सिरहास्थित एउटै क्याम्पसका १४ सय विद्यार्थीलाई निष्कासित र सबै पेपर रद्द
(२०६७ मसिर ८, मंगलवार)
सिरहा - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा मंगलबार प्रकाशित आईएड दोस्रो वर्षको परीक्षाफलमा सिरहास्थित एउटै क्याम्पसका १४ सय विद्यार्थीलाई निष्कासित र सबै पेपर रद्द गरिएको उल्लेख छ । सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसका विद्यार्थी निष्कासित भएका परेका हुन् ।
क्याम्पस प्रमुख डा. रामखेलावन यादवका अनुसार प्रकाशित परीक्षाफलमा कलेजबाट सहभागी रोल नम्बर १३०००१ देखि १३१३९९ का विद्यार्थीको सबै विषयसहित 'एक्स्पेल्ड' गरिएको उल्लेख छ । परीक्षाफलमा १ हजार दुई सय ९९ विद्यार्थीलाई एक वर्ष, २५ जनालाई चार वर्ष र एक जनालाई दुई वर्षका लागि निष्कासित गरिएको पाइएको उनले बताए ।
क्याम्पसका विद्यार्थी र नेताहरूले केन्द्राध्यक्षसमेत रहेका क्याम्पस प्रमुख यादवकै सिफारिसमा निष्कासित गरिएको आरोप लगाउँदै आक्रोश पोखेका छन् । क्याम्पस प्रमुखले भने आफूले त्यसो नगरेको प्रतिक्रिया दिए । उनले भने, 'निष्पक्ष छानबिन होस् म दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार छु ।' उनले आफूलाई केही विद्यार्थीबाट ज्यान मार्ने धम्कीसमेत आएको बताए ।
नेपाल विद्यार्थी संघका सुभाष दासले क्याम्पस प्रमुखलाई विद्यार्थीले कुटपिटसँगै कालोमोसो दलेको झोंकमा सयौं विद्यार्थीको जीवन बर्बाद गरेको आरोप लगाए । मधेसी लोकतान्त्रिक विद्यार्थी फोरमका जिल्ला अध्यक्ष कासिन्द्र यादवले क्याम्पस प्रमुखले विद्यार्थीको जीवनसँग खेलबाड गरेकाले कारबाही हुनुपर्ने बताए । अनेरास्ववियुका सुदन कुसियैतले त्रिविसँग आफ्नो परीक्षाफल सच्चाउन माग गरे । स्ववियुका निवर्तमान अध्यक्ष सञ्जयप्रकाश यादवले क्याम्पस प्रमुखले विद्यार्थीलाई एक्स्पेल्ड गरेर ज्यादती गरेको भन्दै आपत्ति जनाए । 'त्रिविले परीक्षाफल तत्कालै नसच्चाए कडा आन्दोलन गछौं,' उनले भने । विद्यार्थी संगठनले संयुक्त विज्ञप्तिमार्फत निष्कासित विद्यार्थीको उत्तरपुस्तिकाको जाँच गराएर परीक्षाफल प्रकाशित गर्न आग्रह गरेका छन् ।
क्याम्पसका वरिष्ठ प्राध्यापक मधुसूदन यादवले त्रिविले विद्यार्थीको जीवनसँग यस किसिमले खेलबाड गर्नु अन्याय भएको बताए । 'त्रिविले तत्कालीन केन्द्राध्यक्ष रहेको मलाई कुनै जानकारी नै नदिई सयौं विद्यार्थीको भविष्य बिगारेको छ,' क्याम्पस प्रमुख यादवले भने, 'चौध सय विद्यार्थीलाई एक्सपेल्ड गर्नुले त्रिविको मधेसमा रहेको क्याम्पसप्रतिको नीति उजागर भएको छ ।'
क्याम्पस प्रमुख यादवले पूर्वाञ्चल त्रिवि क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिवराज चापागाईले राजनीतिक रिसइबीका कारण पूर्वाग्रही भएर सिरहा क्याम्पसलाई असफल बनाउने नियतले यो कारबाही गरेको दाबी गरे । 'मसँग कुनै परामर्श नलिई नेपालकै इतिहासमा सबैभन्दा बढी विद्यार्थीलाई एउटै केन्द्रबाट निष्कासित गरिएको यो पहिलो हो,' उनले भने, 'परीक्षा समितिका अध्यक्ष, रजिष्टार, रेक्टर र परीक्षा नियन्त्रकसँग परीक्षाफलमा भएको अनियमिता सम्बन्धमा एक उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर यसमा पुनर्विचार गर्न मैले आग्रह गरेको छु ।'
त्रिवि परीक्षा नियन्त्रक दयाराम कर्मचार्यले सह-परीक्षा नियन्त्रक चापागाईले दिएको प्रतिवदेनका आधारमा परीक्षा समितिको बैठकले विद्यार्थीहरूलाई एक्स्पेल्ड गर्ने गरेको आफूलाई प्रतिक्रिया दिएको क्याम्पस प्रमुख यादवले बताए । |