नवलपरासीको परासीमा आयोजित आमसभामा कांग्रेस सुशील कोइरालाद्धारा मिश्रित हिन्दी भाषामा सम्बोधन
(२०६८ चैत्र २७, शनिवार)
- बेचु गौड
परासी - मधेसवादी दलका नेताहरुले हिन्दीमा सम्बोधन गर्नु नौलो होइन, तर संविधानसभाको दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइरालाले पनि मधेसीको भावना जित्न हिन्दी भाषाकै सहारा लिए ।
नवलपरासीको सदरमुकाम परासीमा शनिबार आयोजित आमसभामा कोइरालाले मिश्रित हिन्दी भाषामा सम्बोधन गरे । हिन्दीमा सम्बोधन गरे पनि उनले जातीय संघीयताको भने विरोध गर्न छुटाएनन् ।
कोइरालाले जातीय राज्यले सधै भरि जात जातिविच बैमनश्यता र झै झगडा उत्पन्न हुने भएकोले फरक ढंगले संघीयता हुने र राज्यको संख्या पनि थोरै मात्र बनाउनु पर्ने धारण ब्यक्त गरेका थिए । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुँदा नयाँ तानाशाहको जन्म हुने भएकोले कांग्रेस संसदीय ब्यवस्था, संसदद्वारा निर्वाचित प्रधानमन्त्री राख्ने पक्षमा रहेको बताए । राजतन्त्र फालेर लोकतन्त्र आएको र अहिले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति बनाएर राजा जस्तै तानाशाहको जन्म दिने पक्षमा नेपाली कांग्रेस नरहेका जनाए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालकोजस्तै वर्तमान सरकार पनि शान्ति सुरक्षा कायम गर्न असफल रहेको बताउँदै उनले भने, ‘यो इतिहासकै कलंकित सरकार हो ।’ कोइरालाले चैत्र महिना भित्र शान्ति प्रकृया नटुंयाए भट्टराई सरकारको विकल्प खोज्दै राजीनामा माग्ने बताए । जनतालाई राहत दिने भन्दै बनेको यो सरकार किसानमारा भएको बताउँदै उनले मुलुकमा अभाव, महँगीबाहेक केही पनि दिन नसकेको उनले बताए ।
मधेसी दलहरु तर्फ इंगित गर्दै उनले मधेसी पहाडी लडाएर मधेसी नेताहरु नेपाली नेपाली बिच फुट ल्याउन खोजेको दाबी गरे । उनले को मधेसी र को पहाडी हामी सबै नेपाली नै भएको बताउदै आफू पनि मधेसी नै भएको दाबी गरे । ‘हम भि मधेशी है,’ उनले हिन्दी मै भने, ‘तीन पुस्ते से हम मधेशमे हैं ।' उनले सुन्दर नेपाललाई माओवादी र मधेसी दलका नेताहरुले फुटाउदै भताभुंग बनाउने खोजेको आरोप लगाए । |