माओवादी लडाकुको शिविरहरुमा नेपाली सेनाको टोली प्रवेश
(२०६९ ०, बुधवार)
शक्तिखोर, चितवन - तीन दल र मधेशी मोर्चाको शीर्ष नेतासहितको बैठकले मंगलबार गरेको निर्णय अनुसार माओवादी लडाकुको शिविरहरुमा नेपाली सेनाको टोली प्रवेश गरेको छ । बिशेष समितिले लडाकु, हतियार र शिविरको भौतिक संरचनाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।
नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी दहवनमा
काशीराम डाँगी
रोल्पा: माओवादी लडाकु, लडाकु बसेको शिविर र कन्टेनरमा राखिएको हतियार नेपाली सेनाको नियन्त्रणमा लिने सरकारको निर्णय अनुसार नेपाली सेनाको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सुरक्षा टोली लडाकुको रोल्पास्थित पाँचौ डिभिजन मुख्य शिविर दहवन पुगेको छ ।
मओवादी वैद्य पक्षका कार्यकर्ताले शिविर र त्यहाँ रहेको हतियार कब्जा गर्ने तयारी गरेपछि माओवादी रेखदेख, समयोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिले रोल्पामा शिविर सेनालाई जिम्मा लगाएको हो ।
दहवनमा नेपाली सेनाको दाङस्थित १९ नं बाहिनीबाट १२७ जनाको सैनिक आइपुगेको छ । त्यस्तै भालुबाङस्थित सशस्त्र प्रहरी बल र जिल्लास्थित जिल्ला प्रहरीबाट नेपाल प्रहरी आएको हो । सेनाको नेतृत्व सेनानीले गरेका छन् भने सशस्त्र र नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षकले गरेका छन् ।
लडाकुको पुनर्वर्गीकरण गरिरहेका बेला वैद्य पक्ष कार्यकर्ता र यस अघि नै विभिन्न पटक वहिर्गमनमा गइसकेका पूर्व लडाकुले आक्रमण गर्न सक्ने भएकाले सेनालाई सुरक्षा दिन आग्रह गरिए अनुसार सेना आइसकेको डिभिजन अन्तर्गत ब्रिगेड कमाण्डर दिपेन्द्र शाही युगान्तले बताए ।
‘विशेष समितिको निर्णय अनुसार नै नेपाली सेना आएको हो’ उनले भने ।
यसैबीच सुरक्षाको विषयलाई मध्यनजर गर्दै रोल्पाको लिबाङस्थित देवी दत्त गणबाट थप बलका लागि नेपाली सेना जाने भएको छ । स्रोतका अनुसार मंगलबार राति नै नेपाली सेनाको एक टोली बसमा जाने तयारी गरेको छ । सेनानीको कमाण्डिङमा कम्तीमा दुई सार्वनजिक बसमा जाने तयारी गरिरहेको छ ।
चौथो डिभिजनमा पनि सेना आउँदै
बेचु गौड
परासी : माओवादी लडाकुको पुनः छनौट कार्यमा विवाद उत्पन्न भए पछि नवलपरासीको अरुणखोलास्थित माओवादी चौथों डिभिजन मुख्यालय झ्यालटुङ्गडाडामा शुरक्षार्थ नेपाली सेनाको टोली खटिने भएको छ । नेपाली सेनाको चण्डिप्रसाद गण पाल्पाबाट नेपाली सेनाको टोली आउँदै गरेको बताइएको छ ।
सुरक्षाका लागि नेपाली सेनाको टोली हिडे पनि मंगलवार अबेरसम्म मुख्यालयमा आई नपुगेको सेना समायोजन विशेष समिति सचिवालय सदस्य सदानन्द कुर्मीले बताए । तर, कुन गणबाट सेना आउदै छ, भने आफ्नो टोलीलाई जानकारी नभएको उनले जनाए ।
लडाकु पुनःछनौट कार्य हुँदाहुँदै लडाकुहरु वीच विवाद हुन थाले पछि छनौट कार्य डेढ घण्टामै स्थगित भएको थियो । शिविरका लडाकु र कमाण्डरहरु वीच विवाद सृजना भए पछि शुरक्षाका लागि सरकारले नै सेना पठाउन लागेको हो ।
सेनाको टोलीले समायोजनमा जाने लडाकुलाई मापदण्ड पुगेका लडाकुको जिम्मेवारी लिने र बाकी स्वेक्षिक अवकास जाने लडाकुहरुलाई चेक र यातायात रकम बुझाई फर्काउने कुर्मी बताए । यता सेना आईसके पछि विशेष समितिको टोली,कमाण्डरहरुसंग छलफल गरि पुनः छनौट कार्य अगाडी बढाईने चौथो डिभिजन कमाण्डर तथा विशेष समिति सदस्य तेजप्रसाद ओली(प्रतिक)ले बताए ।
डिभिजनको भित्रकै लडाकुहरुको विवादका कारण मंगलवार साढे ११ बजे देखी पुन: छनौट कार्य स्थगित भएको थियो । मंगलवार २५ जना लडाकुहरुले स्वैच्छिक अवकाश रोजेर चेक र यातायता रकम समेत बुझिसकेका थिए । स्रोतका अनुसार चौथो डिभिजनमा जाने एक क्याप्टेनको कमाण्डमा १४९ को सेनाको टोली बुटवलमा आइबसेको र मंगलवार राति वा बुधवार विहान डिभिजन मुख्यालय पुग्ने छ ।
शक्तिखोरको लडाकु शिविरमा नेपाली सेना
बिनोद त्रिपाठी
शक्तिखोर (चितवन): तीन दल र मधेशी मोर्चाको शीर्ष नेतासहितको बैठकले मंगलबार गरेको निर्णय अनुसार माओवादी लडाकुको शक्तिखोरस्थित मुख्य शिविरमा नेपाली सेनाको एक टोली प्रवेश गरेको छ ।
भरतपुरस्थित शमशेर दल गणबाट गएको सैनिक टोली मंगलबार दिउँसो लडाकु शिविरमा पुगेको हो । सैनिक टोलीलाई सचिवालयका संयोजक बालानन्द शर्मा, लडाकु कमाण्डर धनबहादुर मास्कीलगायतले स्वागत गरेको थियो । सेनाले लडाकुको हतियार तथा शिविरको सुरक्षा जिम्मा लिने छ ।
दिउँसो आएको सैनिक टोली मुख्य शिविरमा प्रबेश गरिसकेको सचिवालयका उपसचिव मधुबिलास पण्डितले जानकारी दिए । अब शिविरको सुरक्षा सेनाले गर्ने उनले बताए । यो शिविरमा अहिले समायोजन रोजेका २ हजार २ सय १४ जना लडाकु छन् ।
दिनभर तनाव
यसअघि दिनभर पुनर्वर्गीकरणका क्रममा शिविरमा तनाव भएको थियो । बर्हिगर्मित र अबकाश पाएका लडाकुको प्रदर्शनले शक्तिखोर शिविर मंगलबार दिनभर तनाबग्रस्त बन्यो । शिविर भित्रकै समायोजन रोजेका सयौं लडाकुले सरकारी भौतिक सामान ओसार्न थालेपछि नियन्त्रण गर्न दिनभर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।
बिहानैदेखि सशस्त्र प्रहरीले शिविर गेटमा पूर्व लडाकुको प्रदर्शनलाई रोकेर झडप हुन नदिन सुरक्षा दिएको थियो । एकातिर पूर्व लडाकुको शिविर बाहिर प्रर्दशन र अर्कोतिर समायोजनमा जाने लडाकुले अन्धाधुन्ध सामान ओसारेपछि जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी शिविर आएका थिए ।
तेस्रो डिभिजन शिविरको तारवार फोडेर लडाकुले भित्रका सामुदायिक बनका ठुला ठुला काठ, पानी ट्याङ्की लगायतका सामग्री ओसारेका थिए । 'निजी सामग्री बाहेक लाखौंका काठ र सरकारी सामान बोके', आंफै शिविर सुरक्षामा खटिएका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले ईकान्तिपुरसंग भने, ‘जथाभावी सरकारी सम्पति लग्ने दुई दर्जन लडाकुलाई केही घण्टा नियन्त्रण लिएर छोडिदियौं ।’ समायोजन रोजेका लडाकुले सामुदयिक बनका काठ शिविरको तारवार फोडेर ओसारेको थाहा पाएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
शिविर बाहिर बर्हिगमित लडाकु र अबकास प्राप्त लडाकु अघिल्लो दिनभन्दा आक्रमक रुपमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले कमाण्डरले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै नाराबाजी गरे । आन्दोलनको क्रममा बिहानैदेखि चितवन बन्द गर्न हिंडेका पूर्व लडाकुलाई सुरक्षाकर्मीले तितरबितर पारेको थियो । सोही क्रममा बर्हिगमित लडाकु ज्वाला नेपाल पक्राउ परेका छन् ।
पूर्व–पश्चिम राजमार्ग बन्द गराउन हिंडेका पुर्ब लडाकुलाई प्रदर्शन हुन रोकेपछि बन्दको प्रभाव खासै पर्न सकेन । शिविर बाहिर प्रदर्शनमा बसेका पूर्व लडाकुले आफुहरु तीन दिनदेखि भोकै आन्दोलन गरेको बताए । हामीहरुलाई पार्टीले 'युज एण्ड थ्रो' बनायो, मकबानपुर राईगाउंकी पूर्व लडाकु प्रबिना बोलसेले भनिन्,‘स्वैच्छिक अबकासमा गएका लडाकु सरहको मान्यता दिएर हामीलाई सरकारले सुबिधा दिनुपर्छ ।’ माओबादीले चाहिने बेलामा हामीलाई प्रयोग गरेको अहिले नचाहिंदा हाम्रा मागलाई बेवास्ता गरेको देख्दा दु:ख लागेको उनले बताईन् ।
अयोग्यको बिल्ला खारेज गर्नुपर्ने, बर्हिगमनमा परेका लडाकुलाई समेत अबकासमा परेका सरह रकम दिनुपर्ने, शिविर भित्रको आर्थिक अनियमितता छानिवन हुनुपर्ने लगायतका माग राखि दुई दिनदेखि पूर्व लडाकुले शिविर बाहिर प्रदर्शन गरेका छन् ।
मंगलबार दिउंसो सचिबालय र शिविर गेटमा अपांग लडाकुले आंफुहरुलाई स्थायी बासको प्रबन्ध हुनुपर्ने माग राखि प्रदर्शन गरे । उनीहरुले पुर्ण, आंशिक र सामान्य अपांगको बर्गिकरणगरी सुबिधा, पुनर्बास, भत्ता लगायतका माग राखि प्रदर्शन गरेका हुन । सरकारले समायोजनको कामसंगै आंफुहरुको गास, बास, कपास र उपचार खर्चको ब्यबस्था हुनुपर्ने अपांग लडाकुको माग छ ।
- कान्तिपुर |