राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्रीलगायतद्धारा नयाँ वर्ष २०६९ को अवसरमा शुभकामना व्यक्त
(२०६९ वैशाख २, शुक्रवार)
काठमाडौ । राष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०६९ को शुभदिनको शुभ बिहानीमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरूमा शान्ति, सुख र समृद्धिको निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति डा यादवद्वारा नव वर्ष २०६९ को अवसरमा आज दिनुभएको सन्देशमा उहाँले वि.स. २०६२÷०६३ को जनआन्दोलनमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिहरूको व्यवस्थापन हाम्रा लागि अझै पनि चुनौतिकैरुपमा रहेको उल्लेख गर्नुभएको छ ।
पछिल्ला दिनमा शान्ति प्रक्रियामा भएका केही सकारात्मक पहलकदमीले अवश्य पनि आशा र सम्भावना जगाएका छन् भन्दै उहाँले मुलुक र आमजनताको अहिलेको अपेक्षा संविधानसभाको बाँकी अवधिभित्रै नयाँ लोकतान्त्रिक संविधानको निर्माण र कार्यान्वयन हो भन्नुभएको छ ।
सन्देशमा लामो समयदेखिको राजनीतिक अन्योल र अस्थिरताको अन्त्यसँगै मुलुकलाई आर्थिक र सामाजिक विकासको पक्षमा डो¥याउन पनि संविधान निर्माण प्रक्रियाले पूर्णता पाउनु अपरिहार्य छ भन्दै उहाँले जननिर्वाचित संविधान निर्माण प्रक्रियाले संविधानसभाले बनाउने सङ्घीय लोकतान्त्रिक संविधान नै गणतन्त्र नेपालको आधारशीला हुने कुरामा कसैमा पनि द्विविधा रहनुहुँदैन भन्नुभएको छ ।
यसैगरी उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०६९ को शुभारम्भको सुखद् अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना एवम् शुभेच्छा प्रकट गर्नुभएको छ ।
सन्देशमा नेपाली जनताले विगतमा अनवरतरुपमा गर्दै आएको बलिदानपूर्ण सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागतरुपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता हो, उपराष्ट्रपति झाले भन्नुभएको छ ।
साथै उपराष्ट्रपति झाले निर्धारित समयभित्र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउँदै जनचाहना बमोजिमको लोकतान्त्रिक संविधानको निर्माण हुन सकेमा मात्र नेपालमा लोकतन्त्रले बलियो जरा गाड्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
यसै अवसरमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनुभएको शुभकामना सन्देशमा नव वर्षको यस शुभ अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ– ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात हामी मुलुकमा दिगो शान्ति स्थापना गर्न र नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अग्रसर छौँ । नयाँ वर्षको सङ्घारमा नै हामी शान्ति प्रक्रियालार्य सार्थक निष्कर्षमा पु¥याई एउटा महत्वपूर्ण कार्यभार पूरा गर्न लागेका छौँ ।
प्रधानमन्त्री डा भट्टराईले हाम्रा सामु रहेका चुनौतीहरू सम्बोधन गर्न दलहरूका बीचमा उच्चस्तरको जिम्मेवारीबोध, सहमति र सहकार्यको आवश्यकता रहेको छ भन्दै सन्देशमा हामी राजनीतिक दलहरूलाई उक्त दायित्व निर्वाह गर्न सम्पूर्ण जनसमुदायलाई आ–आफ्नो ठाउँबाट सजग गराउन आह्वान गर्दछु भन्नुभएको छ ।
“लोकतान्त्रिक र जनमैत्री संविधान निर्माणका लागि सार्वभौम संविधानसभा क्रियाशील छ । तर दलहरूका बीचमा राज्यको पुःनसंरचना, शासकीय स्वरुप, शासन प्रणालीजस्ता विषयहरूमा सहमति हुन बाँकी रहेकोले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेर पनि टुङ्ग्याउन सकिएको छैन” भन्दै सन्देशमा प्रधानमन्त्रीले शान्ति प्रक्रियामा सरकारको तर्फबाट हरतरहले सघाउने वचनबद्धता व्यक्त गर्नुभएको छ ।
आजको यस महत्वपूर्ण अवसरमा मुलुकमा सुशासनको प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, ढिलासुस्तीको अन्त्य, कानुनको पूर्ण पालना, मानवअधिकारको रक्षाजस्ता महत्वपूर्ण जिम्मेवारीहरू दृढतापूर्वक पूरा गर्न म सम्पूर्ण राष्ट्रसेवकहरूलाई आह्वान गर्दछु, प्रधानमन्त्रीले भन्नुभएको छ ।
प्रधानमन्त्रीले अबको हाम्रो मूल गन्तव्य आर्थिक विकास र सुशासनको माध्यमबाट न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माणको हो भन्दै उक्त उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमति, सहकार्य र एकता संविधान निर्माण र दीगो शान्तिको लागि अपरिहार्य रहेको पनि उल्लेख गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले नव वर्ष २०६९ को सुखद् उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति कोइरालाद्वारा आज जारी शुभकामना सन्देशमा प्रत्येक नयाँ वर्षले हामी सबैलाई विगतका सबै कुराहरूलाई केलाएर, तिनीहरूको विश्लेषण गरेर, आगामी दिनलाई देश र जनताको हितमा सबल पार्दै जाने उल्लेख गर्नुभएको छ । सभापति कोइरालाले नव वर्षमा सम्पूर्ण नागरिकले जिउधनको सुरक्षा, प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिकाको अनुभूति, दण्डहीनताको अन्त्य र जबर्जस्ती कब्जा सम्पत्ति फिर्ता र द्वन्द्वपीडित एवम् विस्थापितको पुनःस्थापना जस्ता ज्वलन्त समस्याको समाधान भएको अनुभव गर्न पाउनुपर्दछ भन्नुभएको छ ।
उहाँले माओवादी लडाकु, हतियार र शिविर नेपाली सेनाको मातहतमा रहने विशेष समितिको हालैको निर्णयले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन एउटा सकारात्मक दिशा प्रदान गरेको उल्लेख गर्नुभएको छ ।
नेपाली जनताको इच्छा र चाहना दिगो शान्ति, समुन्नत र समृद्ध राष्ट्र निर्माण रहेको छ, यस लक्ष्यलाई सफल बनाउन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग, एकता र दृढ संकल्पको खाँचो छ– सन्देशमा भनिएको छ ।
यसैगरी नेपाली काँग्रेसका उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०६९ को अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नेता पौडेलले आज शुभकामना दिँदै मुलुक राजनीतिक सङ्क्रमणकालबाट गुज्रिरहेको अहिलेको सन्दर्भमा नयाँ वर्षको आगमनले नेपाल र नेपाली जनतामा दीगो शान्ति, संविधान र लोकतन्त्रलाई सम्पूर्ण रुपले साकार गर्ने कुरामा प्रेरणा र सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नव वर्ष २०६९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।
शान्ति प्रक्रिया सम्पन्न नभई नयाँ संविधान घोषणा हुन सक्ने अवस्था थिएन, जनतामा निराशा छाएको थियो तर शान्ति प्रक्रियाका बारेमा भएको पछिल्लो निर्णयले हामी सबैलाई उत्साहित बनाएको छ, उहाँले भन्नुभएको छ ।
श्री देउवाले शान्ति प्रक्रियाका बारेमा भएका पछिल्ला निर्णयलाई सकारात्मकरुपमा लिइएको छ भन्दै शान्ति प्रक्रियाको निर्णयले मुलुकमा स्थायी शान्ति स्थापित गर्न थप प्रेरणा मिलेको बताउनुभएको छ ।
शान्ति प्रक्रिया सहजढङ्गले अगाडि बढेमा नयाँ वर्ष २०६९ को प्रारम्भसँगै नेपाली जनताले चाहेको लोकतान्त्रिक संविधान आउनेछ भन्ने विश्वास श्री देउवाले गर्नुभएको छ ।
यसै अवसरमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले नयाँ वर्ष २०६९ को अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, समृद्धि, एकता र सद्भावका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरी नेपाल मानवअधिकार सङ्गठनका अध्यक्ष सुदीप पाठकले नव वर्ष २०६९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०६९ ले उद्योग, व्यवसाय, शिक्षा तथा यातायात क्षेत्र बन्द, हड्ताल र हिंसामुुक्त क्षेत्र एवम् शान्ति क्षेत्र बनुन्, दण्डहीनताको अन्य होस्, बोक्सीको आरोपमा जिउँदै जल्नुपर्ने अवस्था नहोस्, बेपत्ता र द्वन्द्वपीडित परिवारलाई राज्यका तर्फबाट उचित व्यवस्था होस् भन्ने कामना गर्नुुभएको छ ।
|