अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनद्धारा इजिप्टका राष्ट्रपति मुर्सीलाई सैन्य नेतृत्वसँग वार्ता शुरु गर्न आग्रह
(२०६९ श्रावण १, आइतवार)
 अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीलाई सैन्य नेतृत्वसँग वार्ता शुरु गर्न आग्रह गर्नु भएको छ । कायरोमा राष्ट्रपति मुर्सीसंगको भेटमा क्लिन्टनले वार्ताको माध्यमबाटै इजिप्टमा लोकतन्त्र कायम राख्न जारी राजनीतिक परिवर्तनका प्रक्रिया बचाइराख्नु पर्नेमा जोड दिनुभयो ।
क्लिन्टनले महिला र अल्पसंख्यकको अधिकार संरक्षित गर्ने प्रतिबद्धता पूरा गर्न र इजरायलसंगको शान्ति सम्झौतालाई निरन्तरता दिन राष्ट्रपति मुर्सीलाई आग्रह गर्नुभयो । अमेरिकी विदेशमन्त्री क्लिन्टनले इजिप्टको नयाँ सरकारलाई अमेरिकाले आर्थिक र राजनीतिक समर्थन गर्ने वचन पनि दिनु भयो ।
उहाँले इजिप्टमा जारी राजनीतिक तनाव कम गर्न वार्ता र सम्झौता आवश्यक भएकोमा जोड दिनु भयो । क्लिन्टनले इजिप्टका सैन्य प्रमुख हुसैन तान्तवीसंग पनि भेट गर्दै हुनुहुन्छ । सैन्य परिषद्ले गरेको अन्तरिम नेतृत्वको पनि अमेरिकी विदेशमन्त्री क्लिन्टनले प्रशंसा गर्नुं भयो ।
इजिप्टमा होस्नी मुबारकाको पतन पछि भएको पहिलो निर्वाचनबाट मुश्लिम ब्रदरहुड पार्टीका नेता मुर्सी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै मुर्सीले संसद पुनस्र्थापनाको आदेश दिनु भएको थियो । मुर्सीको यो आदेशसंगै त्यहां सरकार र पुनस्र्थापनाको विपक्षमा रहेको सैन्य नेतृत्वबीच विवाद बढेको छ । |