मधेसी उपराष्ट्रपति परमानन्द झाद्धारा जेठ १४ मा संविधान नबने राजतन्त्र फर्कन सक्ने दावी
(२०६८ चैत्र २३, मंगलवार)
काठमाडौं - मधेसी उपराष्ट्रपति परमानन्द झाले जेठ १४ मा संविधान नबने राजतन्त्र फर्कन सक्ने बताएका छन् ।
उनले राजनीतिक दलहरुले विगार्ने मात्रै, काम गर्न नसक्ने हो भने मुलुकमा राजतन्त्र समेत फर्कन सक्ने आशंका गरे । ‘लोकतन्त्र आई हाल्छ भन्ने परिकल्पना भन्ने कसले गरेका थिए र हामीले त प्रयास मात्रै गरेको त हो नि,’ रिपोर्टर्स क्लवका सञ्चारकर्मीसँग सोमबार उनले भने, ‘नेपाली जनताले चाहे भने राजतन्त्र फेरि आउन सक्छ त्यसलाई सबैले स्वीकार्नु पर्छ ।’
उपराष्ट्रपति झाले जेठ १४ मा संविधान आउनेमा कसैलाई विश्वास नभएको भन्दै दलहरुले विकल्पमा छलफल थाल्नु पर्ने आवश्यकता औंल्याए । विकल्पमा छलफल नगरी चुप लागेर बस्नु ठिक नभएको भन्दै उनले जेठ १४ पछिको लागि विकल्प उचित हुन्छ त्यसको खोजी गर्न सुझाव दिए ।
उनले दलहरुले गरिरहेको काम र बाँकी समय हेर्दा कसैले पनि जेठ १४ मा संविधान आउला भनेर सोच्न नसकेको भन्दै संविधान नबन्नुको दोषी प्रमुख तीन दलका १० जना शीर्ष नेताहरुमात्रै रहेको दावी गरे ।
‘संविधान नबन्नुमा ६ सय १ सभासद दोषी छैनन्, तीन दलका प्रमुख १० जना नेताहरु दोषी छन्,’ उनले भने, ‘उनीहरुवीच सहमति बन्न नसकेसम्म संविधान आउँनै सक्दैन । हामीले आशा र कामना बाहेक केही गर्न सक्दैनौं ।’
संविधानसभाको फेरि म्याद थप्ने कुरा दलहरुले आफ्नो मस्तिष्कबाट हटाउनु पर्ने भन्दै उनले संविधान बनाउन नसक्ने भए नेताहरुलाई ठाँउ खाली गर्न चुनौति दिए । उनले भने, ‘संविधानसभाको म्याद थप्ने कुरा अब हुँदैन संविधान बनाउन नसक्ने हो भने सक्दिन भनेर ठाँउ खाली गर्नु पर्छ ।’
संविधान निर्माणको काममा सर्वोच्च अदालतले भनेजस्तो जनमत संग्रहमा जान नसकिने स्पष्ट पार्दै उपराष्ट्रपति झाले सर्वोच्चको फैसला अस्पष्ट रहेको बताए । उनले भने, ‘संविधान निर्माणको लागि जनमत संग्रहमा जान सकिँदैन । संविधानका केही विवादित विषयमा मात्रै जनमत संग्रह गर्ने हो ।’
संघीयता संविधानमै उल्लेख रहेकोले संघीयता हुने नहुनेमा विवाद गर्न आवश्यक नरहेको भन्दै उनले अब कति प्रदेश चाहिन्छ भन्नेमामात्र छलफल गर्नु पर्ने आवश्यकता औल्याए । मधेस प्रदेशबारे उनले भने, ‘लिम्बुवान, किरात, ताम्सालिङ राज्यको माग पुरा गरिन्छ भने मधेस पनि हुन्छ ।’ - कान्तिपुर |