झापामा माओवादी नेताबिरुद्ध ठगी मुद्दा
(२०६८ फाल्गुन ११, मंगलवार)
दमक - माओवादीका झापा क्षेत्र नम्बर ७ का इन्चार्ज एवं कोचिला राज्य समिती सदस्य गगन पुरीले प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर १ लाख लगेको भन्दै प्रहरीमा उजुरी परेको छ । पिडित पक्षले पत्रकार सम्मेलन गरेर पुरीले जनपथ प्रहरीको असइ पदमा जागिर लगाइदिने आस्वासन दिएको फोन रेकर्ड पनि सार्बजनिक गरेको छ ।
गत साउन १६ गते पुरीले मोरङ, सिंजुवाका बिएम शर्मा मार्फत उदयपुर गाइघाटका निर्माण बस्नेतको १ लाख लगेको शर्माले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला माओवादी नेता हरीबोल गजुरेलमार्फत प्रहरीमा जागिर लगाइदिने आश्वासन पुरीले दिएका थिए । शसस्त्रको असइको नतिजा प्रकाशन हुँदा नाम ननिस्कएपछि पैसा बुझाउने पक्षले पुरीसँग पैसा फिर्ता गर्नुपर्ने अडान लिँदै आएको थियो ।
'गजुरेल बाहिर गएकाले नाम निस्किएनछ, अब अनुसन्धानमा नियूक्ति
गराउछु भनेर बारम्बार झुक्याए', शर्माले भने, 'पैसा फिर्ताको म्याद सार्दै गएर फागुन ७ गते साँझ साढे ५बजेको अन्तिम भाखा पनि नाघेपछि मैले यो बिषय सार्बजनिक गरेको हुँ ।' पैसा बुझाउने बस्नेत शर्माका साला हुन् । शर्मा माओवादीका पूर्व कार्यकर्ता हुन् ।
पुरीले शर्मामार्फत सुखानी आवाज मासिकका लागी १ लाख ऋण लिएको बताएका छन् । प्रहरीमा जागिर लगाइदिने आस्वासन आफूले कहिल्यै नदिएको उनको दाबी छ । पुरी माओवादी निकटको सुखानी आवाज मासिक प्रकाशन प्रालिका अध्यक्ष हुन् । करिब ६महिना अघि देखि पत्रिका बन्द छ । 'पत्रिकाको करिब ५लाख रुपैंया उठ्न बांकी छ त्यो रकम उठेपछि बिएएमजीले दिएको पैसा फिर्ता हुन्छ', पुरीले भने ।
पार्टीको जिम्मेवार नेताले झुटा आस्वासन दिएर ठगी गर्नु गलत प्रवृती भएको पिडित पक्षको भनाइ छ । पाटीमा आफूसंग बिचार नमिल्ने समूहले षडयन्त्र गरेको पुरीले बताए ।
आइतबार दिएको उजुरी प्रहरीले सोमबार पनि दर्ता गरेको छैन । राजनीतिक ब्यक्तित्वको छवि बिग्रन्छ भन्दै प्रहरी निरीक्षकले निबेदन दर्ता गर्न नमानेको शर्माले बताए । 'प्रहरीले पिडितको उजुरी किन दर्ता गरेको छैन', शर्माले सोमबार भने, 'यसको कारण खोज्न हामी पुन प्रहरी कार्यलय जादैछौं ।'
इलाका प्रहरी कार्यलय, दमकका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार घटनास्थल काठमाडौ भएकाले उतैबाट प्रक्रिया अघि बढाउन दुबै पक्षलाई आग्रह गरेर फिर्ता पठाइएको छ ।
यसैबीच सुखानी आवाज मासिकका व्यवस्थापक ओम श्रमिकले सोमबार एक विज्ञप्ति जारी गरी पत्रिकाको लागि शर्मासँग १ लाख ऋण लिएको जनाएका छन् । कान्तिपुर |