ब्रिटेनले इजरायली कूटनीतिज्ञलाई राहदानीहरुको दुरुपयोग गरेको आरोपमा निष्काशन

ब्रिटेनले एकजना इजरायली कूटनीतिज्ञलाई ब्रिटिश राहदानीहरुको दुरुपयोग गरेको आरोपमा निष्काशन गरेको छ।

त्यसरी दुरुपयोग गरिएका राहदानीहरुमध्ये केही गत जनवरी महिनामा दुबईमा एकजना प्यालेस्टिनी हमास अधिकारीको हत्यामा संलग्न बन्दुकधारीहरुले प्रयोग गरेका थिए।

इजरायलले ब्रिटिश राहदानीहरुको दुरुस्त प्रति तयार गरेको प्रमाण एउटा ब्रिटिश अनुसन्धान निकायले फेला पारेपछि ब्रिटिश विदेशमन्त्री डेभिड मिलिब्याण्डले एकजना इजरायली कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय लिएका हुन्।

निष्काशित गरिएका कूटनीतिज्ञ ब्रिटेनकालागि इजरायली राजदूत भने होईनन्।

तर सो निष्काशन उक्त मामिलालाई लिएर ब्रिटेन निकै रिसाएको छ भन्ने कुराको एउटा बलियो संकेत हो।

निष्काशित व्यक्ति कूटनीतिज्ञ भएपनि इजरायलको गुप्तचर निकाय मोसादको लण्डनस्थित प्रमुख रहेको ठानिएको छ।

कूटनीतिक सूत्रहरु भन्छन्, सो हत्या इजरायलको गुप्तचर सेवाले गराएको हो भन्ने प्रमाण ब्रिटेनसंग छैन, तर दुबईका प्रहरी अधिकारीहरुले त्यस्तो आरोप लगाएका थिए।

उनीहरुले हमासका एकजना नेता अल मबुहाको हत्या गरिनुअघि आफ्नो पहिचान लुकाएका सन्दिग्ध इजरायली गुप्तचरहरुले उनको पिछा गरेका सिसिटिभि चित्रहरु देखाएका थिए।

त्यसयता इजरायलसंग ब्रिटेनको संबन्ध अलि कठिनाईपूर्ण बन्न पुगेको थियो।

दबाब

त्यसो त अहिले ईजरायलले विश्वभरिकै आफ्ना सहयोगीहरुबाट चौतर्फी कूटनीतिक दबाब व्यहोरिरहेको छ।

ब्रिटेनलगायतका मुलुकहरुको समर्थनमा अमेरिकाले जेरुसलमस्थित अधिनस्थ भूभागमा यहुदीहरुकालागि नयां बस्ती निर्माण गर्ने काम रोक्न इजरायलमाथि दबाब दिईरहेको छ।

त्यसबाट प्यालेस्टिनीहरुसंग शान्ति कायम गर्ने काम असंभवजस्तै हुने उसको भनाइ छ।

गतवर्ष एउटा ब्रिटिश अदालतले भूतपूर्व ईजरायली विदेशमन्त्री जिपी लिभ्नीलाई युद्ध अपराधसंबन्धी अभियोगमा पक्राउ गर्न आदेश दिएपछि उनले ब्रिटेनको भ्रमण रद्द गरेकी थिईन्।

हमास नेता अल मबुहाको हत्यामा इजरायल संलग्न भएको पाईएमा पनि त्यो पहिलो त्यस्तो घटना भने हुनेछैन।

यस अघि आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा सन् १९९७ मा बिन्यामिन नेतान्याहुले अर्का हमास अधिकारी खालेद मेशाललाई जोर्डनमा बिष खुवाएर हत्या गर्न आदेश दिएका थिए।

यद्यपि मेशालका अंगरक्षकहरुले मोसादका दुईजना सदस्यहरुलाई कब्वामा लिएपछि सो योजना तुहिएको थियो।

हाल दमास्कसमा निर्वासनमा बसिरहेका मेशाल हमासका एकजना वरिष्ठ नेता पनि हुन्।