इराकमा निर्वाचन विजेता अलावीले सबै दलहरुसँग मिलेर नयाँ सरकार बनाउने

इराकमा सम्पन्न संसदीय निर्वाचनका विजेता आयाद अलावीले सबै दलहरुसँग मिलेर नयाँ सरकार बनाउने बताएका छन्।

चुनावको अन्तिम नतिजा घोषणा भएको केही बेरपछि आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले राजनेताको जस्तो भाषाको प्रयोग गर्दै बोलेका थिए।

उनले राष्ट्रको हितको लागि आफू दलीय राजनीति र विभाजनकारी जातियतावादको घेरा भन्दा माथि उठेर काम गर्न अग्रसर रहेको बताए।

अलावी निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलन मुख्य सरकारी टेलिभिजन इराकीयाले प्रशारण गरेको थियो।

चुनावअघि सो टेलिभिजनले प्रधानमन्त्री नुरी अल मलिकीलाई भन्दा अलावीलाई कम समय दिएको थियो।

‘चकित’

आफ्नो जोडदार पुनरागमनबाट अलावीले धेरैलाई चकित पारि दिएका छन्।

“यो साँचो हो की उनले ठूलो अन्तरले जितेनन्।”

“तर जटिल र टुक्रा टुक्रामा विभाजित देखिने इराकी राजनीतिलाई हेर्दा उनको जित एउटा ठूलो उपलब्धी मानिने छ।”

यद्यपी उनका निकटतम प्रतिद्वन्द्वी नुरी अल मलिकीले चुनावी परिणामलाई न्यायालयसमक्ष चुनौती दिने बताएका छन्।

अलावीको कार्यकाल कस्तो हुन्छ भन्ने कुरा आगामी दिनमा आन्तरिक र क्षेत्रीय चुनौतीहरुको उनले कसरी सामना गर्नेछन् त्यसमा निर्भर हुनेछ।

पत्रकार सम्मेलनमा उनी आफ्ना आन्तरिक र बाहिरी शत्रुहरुप्रति समावेशी र मैत्रीपूर्णरुपमा प्रस्तुत भएका थिए।

‘उदाउँदो प्रजातन्त्र’

छिमेकी इरानीहरुले आफ्नो पुनरागमनलाई नरुचाहेको बुझेका धर्म निरपेक्षतावादी अलावीले क्षेत्रीय स्थिरता कायम गर्ने जिम्मेवारी अमेरिकीहरुको नभइ त्यस क्षेत्रका जनताहरुको भएको बताए।

उनले भने, अमेरिकीहरु हाम्रो सुरक्षाका लागि यहाँ सदाका लागि बस्न सक्दैनन्।

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन सक्यो भने र अलावीले आन्तरिक र क्षेत्रीय चलखेलहरुको सहज व्यवस्थापन गर्न सके भने केहीले इराकको उदाउँदो प्रजातन्त्र परिपक्व हुन थालेको मान्नेछन्।