मस्को, चैत १६ – मस्कोमा आज बिहानै भएको दुई विष्फोटमा परी कम्तीमा ४३ मानिसको मृत्यु भएको छ। भीड बढी हुने समयमा मस्कोको मेट्रोमा विष्फोट भएको थियो। पहिलो विष्फोट लुवयानका रेल स्टेसनमा भएको हो जहाँ २५ ले ज्यान गुमाए।
त्यतिखेर हजारौंको संख्यामा यात्रुहरु स्टेसनमा उपस्थित थिए। घटना भएको स्थान रसियाको फेडरल सेक्युरिटी सर्भिस नजिकै हो।
पहिलो विष्फोटको घटनाको ४५ मिनेटपछि दोस्रो विष्फोट भएको थियो। पार्क कुल्टयुरीमा भएको भएको विष्फोटमा परी १८ को मृत्यु भएको थियो।
दुबै विष्फोटमा परी घाइते हुनेको संख्या यकिन भएको छैन। तर, सुरक्षा स्रोतले घाइतेको संख्या धेरै रहेको जनाएको छ।
सुरक्षा निकायको प्रारम्भिक अनुमान अनुसार विष्फोटमा आत्मघाती बमको प्रयोग भएको हुनसक्छ। विष्फोटमा मारिनेको संख्या थप बढ्न सक्ने बताइएको छ। – एजेन्सी