रुसमा मृतकहरुको संझनामा राष्ट्रिय शोक, सुरक्षा संबन्धी कानुनमा सुधार ल्याउने

उनन्चालिस जनाको ज्यान जानेगरी मस्कोको भूमिगत रेलसेवामा सोमबार गराईएका दुईवटा बम विष्फोटनहरुपछि रुसले आफ्नो सुरक्षा संबन्धी कानुनमा सुधार ल्याउने बारे विचार गरिरहेको छ।

रुसी राष्ट्पति दिमित्री मेदभेदेवले अधिकारीहरुलाई आतंकवाद नियन्त्रण गर्न नयां कानुन तयार पार्न भनेका छन्।

विष्फोटनमा परी मारिएकाहरुको संझनामा मंगलबार राष्ट्रिय शोक मनाईंदै गर्दा उनको त्यस्तो भनाइ सार्वजनिक भएको हो।

रुसमा राष्ट्रिय शोक मनाईंदै गर्दा रुसीहरुले बम हमलामा मारिएकाहरुको संझनामा हिजो हमला गरिएका भूमिगत रेल स्टेशनहरुमा मैनबत्ती बाल्नुकासाथै फूलमाला चढाएका थिए।

मुख्य टेलिभिजन च्यानलहरुले विज्ञापन र मनोरन्जन कार्यक्रमहरु प्रसार गरेनन्।

रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले हमलाकारीहरुलाई नष्ट गरेरै छाडने वाचा गरिरहंदा थप हमलाहरु गरिनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रपति मेदभेदेवले आतंककारी नियन्त्रणसंबन्धी कानुनलाई अझ कडा तुल्याउन आदेश दिएका छन्।

सोमबारको हमलामा घाइतेभएकाहरुलाई अस्पतालमा भेटेपछि बोल्दै रुसी प्रधानमन्त्री भ्लादिमिर पुटीनले अपराधीहरुलाई पत्ता लगाएर दण्ड दिन सरकारले आवश्यक जे पनि गर्ने बताए।

निन्दा

संयुक्त राज्य अमेरिकाले ती हमलाहरुको निन्दा गर्नुकासाथै हमलाकारीहरुलाई न्यायको कठघरासम्म ल्याउन सघाउने जनाएको छ।

क्यानडाको सिटिभी नेटवर्कलाई अन्तर्वार्ता दिंदै अमेरिकी विदेश मन्त्री हिलरी क्लिन्टनले भनिन्, तपाईं चाहे मस्कोमा यात्रा गरिरहनुभएको होस् अथवा लण्डनमा, म्याड्रिडको रेलमा सवार हुनुहोस् वा न्यूयोर्कको कार्यालयमा काम गरिरहेका हुनुहोस्, हामीहरुले एउटै शत्रुलाई व्यहोरिरहेका छौं।

सुरक्षा निकायहरुले आत्मघाती बम हमलाकारीहरू रुसको उत्तरी ककेससस्थित एउटा उग्रवादी समूहसँग सम्वद्ध महिलाहरू भएको विश्वास गर्दछन्।

सो क्षेत्रमा धेरै वर्षदेखि मुसलमान विद्रोहीहरु स्वतन्त्रताका लागि लडिरहेका छन्।

रूसको प्रमुख गुप्तचर संस्था एफएसबीका प्रमुखले ती आत्मघाती बम हमलाहरू गराउन चेचन्या र इंगुशेतिया क्षेत्रलाई समेट्ने मुसलमानहरुको बाहुल्य रहेको उत्तर ककेसस क्षेत्रका उग्रवादीहरू जिम्मेवार रहेको आरोप लगाए।

यसअघि मस्कोको भूमिगत रेलसेवामा सन् २००४ मा गरिएको एक हमलामा चालिसजनाको ज्यान गएको थियो।

त्यसको ६ महिनापछि अर्को रेलवे स्टेशन बाहिर गरिएको हमलामा दशजनाको ज्यान गएको थियो।

ती दुबै हमलाकालागि चेचन्यामा सकृय विद्रोहीहरुलाई दोष लगाईएको थियो।

मस्कोको भूमिगत रेलसेवजा संसारकै सबैभन्दा व्यस्त रेलसेवाहरुमध्ये एक हो, जसमा दैनिक साढेपांचलाखजति यात्रुहरु यात्रा गर्दछन्।

प्रहरीले गोप्यरुपमा खिंचिएका चित्रहरुका आधारमा बम हमलाकारीहरुसंगै रहेका दुईजना महिला तथा संभाव्य पुरुष सहयोगीहरुको खोजी गरिरहेका छन्।