हवाई दुर्घटनामा ज्यान गुमाएका पोल्याण्डका राष्ट्रपतिको शव राजधानी वार्सामा

शनिबार भएको एउटा हवाई दुर्घटनामा ज्यान गुमाएका पोल्याण्डका राष्ट्रपति लेख काजिन्स्किको शव आइतबार पोल्याण्डको राजधानी वार्सा ल्याइएको छ।

उक्त दुर्घटनामा जहाजमा रहेका ९६ जना सबैको ज्यान गएको थियो।

विमानस्थलमा उनको शव लिन उनका भाइ तथा पूर्व प्रधानमन्त्री ज्यारोस्ल काजिन्स्कि र वर्तमान प्रधानमन्त्री डोनाल्ड टस्क र कार्यवाहक राष्ट्रपति ब्रोनिस्ल कोमोरोस्की पुगेका थिए।

रातो र सेतो रंगको पोलिश झण्डा ओढाइएको उनको शव राखिएको बाकसलाई सैनिकहरुले बोकेका थिए र पादरीहरुले पार्थना गरेका थिए।

मौनधारण

यसअघि स्थानीय समय अनुसार मध्यान्ह देशभर मानिसहरुले दुइमिनेट मौनधारण गरेर शोक मनाएका थिए।

मौनधारण शुरु भएको संकेत दिन पोल्याण्डभर साइरनहरु बजाइएका थिए।

उनको शवलाई सैनिक सम्मान प्रदान गरिने जनाइएको छ।

त्यसपछि उनको शवलाई राष्ट्रपतिको दरबारमा लगिनेछ।

भीड

दिवंगत राष्ट्रपतिलाई फुल चढाउन र उनको संझनामा मैनबत्ती बाल्न चाहनेहरुको भीड दरबार छेउछाउमा बढ्दै गइरहेको छ।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आँशु झार्दै पोलिश संसद बाहिर राष्ट्रपतिको संझनामा एउटा कार्यक्रम गरेका थिए।

पोल्याण्ड शोकमग्न छ।

रातो र सेतो रंगयुक्त पोलिश झण्डाहरुमा कालो रिबन बाँधेर व्यक्तिगत घरहरु र सरकारी कार्यालयहरुमा राखिएको छ।

मानिसहरु दिवंगतहरुको संस्मरणमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।

पोल्याण्डमा एक हप्तासम्मका लागि खेलकुद र सामाजिक कार्यक्रमहरु रद्द गरिएको छ।