उनले आफ्नो सरकारमा कुनै विभाजन नभएको बताए।
थाइ सशस्त्र सुरक्षा फौजहरुका प्रमुख जनरल अनुपोङ्ग प्रचिन्डाले देशको राजनीतिक संकटको निकास संसद विघटन गरेर मात्र निस्किन सक्ने बताएको केही घण्टापछि प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो।
सुरक्षा फौजका प्रमुखको भनाइ थाइ सरकार विरोधी प्रदर्शनकारीहरुको मागसँग मिल्दोजुल्दो छ।
उनीहरुले थाइ राजधानी ब्याङ्ककका कैयौं स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन्।
प्रशंसा
विशेष टेलिभिजन प्रसारणमा बोल्दै, प्रधानमन्त्री अभिसितले सरकार, सेना, प्रहरी र आफ्ना साझेदारहरुबीचको राम्रो सहयोग र सहकार्यको प्रशंसा गरे।
उनले सरकार सही मार्गमा रहेको र सो अवस्था जारी रहनेमा जोड दिए।
तर उनको त्यस्तो भनाइ सुरक्षा फौजहरुका प्रमुख जनरल अनुपोङ्गले राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाबाटै हुनु पर्नेमा जोड दिएको केही घण्टापछि आएको हो।
जनरल अनुपोङ्गले राजनीतिक समस्याको समाधान संसद विघटन गरेर निकाल्नु पर्ने सुझाव दिएका थिए।
उनको त्यस्तो भनाइले मध्यावधि चुनाव मार्फत अभिसित नेतृत्वको सरकार फेरिनुपर्ने भन्ने विपक्षी रेड शर्टस् प्रदर्शनकारीहरुको मागलाई बल पुर्याएको देखिएको छ।
ब्याङ्ककस्थित बीबीसीकी संवाददाता भाउडिन् इङ्गल्याण्ड् भन्छिन्, “सरकार विरोधी प्रदर्शनहरुलाई निस्तेज पार्ने थाइ सेनाको प्रयासलाई दुई दिनअघिमात्र विफल पारेका रेड शर्टस् प्रदर्शनकारीहरु आफ्ना माग प्रति अडिग र विश्वस्त देखिएका छन्।”
प्रधानमन्त्री अभिसितबाट अचानक आएको प्रतिक्रिया जे जस्तो भएपनि विश्लेषकहरुका विचारमा सरकार र सशस्त्र फौजहरुबीच विभाजनहरु कायमै छन्।