वैदेशिक रोजगारीमा गएकाहरूको टुट्दैछ परिवार

सुशीला बुढाथोकी

• उदयपुर गाईघाटका मानबहादुर परियार मलेशियाबाट बिदामा आएलगत्तै ४ फागुनमा पाँच लाख नगद र एक तोला सुनसहित बेपत्ता भएकी श्रीमतीले नाबालक छोराको समेत माया मारेर दुई सन्तानका बाबुसँग विवाह गरिन्। वैदेशिक रोजगारमा गएर हाडछाला घोटी काम गर्नु व्यर्थ भएको भन्दै परियार भन्छन्, “बच्चा जिम्मा लगाउन मात्र बसेकी रहिछ।”

• चार वर्ष कुवेतमा काम गरेकी जुनु भट्टराई (नाम परिवर्तन) गाउँका बहिनीहरूलाई बस चढाउन गएकी फर्केर आइनन्। केही दिनपछि फोनमा कुरा हुँदा उनले दोस्रो घरजम गरेको र छोराको राम्रो हेरचाह गर्न भनेको श्रीमान् डम्बर कार्की बताउँछन्।

• मलेशियाबाट फर्केका श्रीमानले परपुरुषसँग लागेको आरोप लगाउँदै दिनहुँ शारीरिक र मानसिक यातना दिन थालेपछि दाङकी कलावती चौधरी (नाम परिवर्तन) सम्बन्धविच्छेदको माग गर्दै काठमाडौं जिल्ला अदालत पुगेकी छन्। एक छोरीको हेरचाह पनि उनै गर्दैछिन्।

• लामो समय अमेरिका बसेकी काठमाडौंकी श्रद्धा तामाङ (नाम परिवर्तन) फर्कंदा श्रीमानले दोस्रो विवाह गरिसकेछन्। तीन छोराछोरीको पालनपोषण गरिरहेकी श्रद्धा छोडपत्रको मुद्दा लडिरहेकी छन्।

पति वा पत्नी कमाउन विदेश गएपछिको आम्दानी, एक्लोपना र बढ्दो सामाजिक खुलापनका कारण पारिवारिक सुख गुमाएका प्रतिनिधिपात्र हुन् मानबहादुर, डम्बर, कलावती र श्रद्धा। पछिल्लो समय महिलाहरू वैदेशिक रोजगारीमा जाने क्रमसँगै पारिवारिक विखण्डन झ्न् बढेको छ। परस्पर छुट्टिएर रहँदा युवा दम्पतीमा आउने अनेकन् विचलनबाट तिनका बालबच्चा पनि मानसिक दबाबमा परेका छन्। विवाहित युवायुवती विदेशिँदा हुने यस्तो परिणामले परम्परागत सामाजिक सम्बन्धलाई चुनौती दिँदै विवाहेत्तर यौन-सम्बन्ध र दोस्रो विवाहलाई सामान्य बनाउँदै लगेको समाजशास्त्रीहरू बताउँछन्। समाजशास्त्री सुरेश ढकाल भन्छन्, “मानिसहरू स्वच्छन्द र व्यक्तिगत बन्दै गइरहेका छन् भन्ने सङ्केत हो यो, यद्यपि यो सबैमा लागू हुँदैन।”

वैदेशिक रोजगारीमा गएकाहरूको विवाहेत्तर सम्बन्धका घटना वा विवाद प्रहरीकहाँ पनि पुग्न थालेका छन्। काठमाडौंकी एक महिलासँगको यौन-सम्बन्धलाई उनको श्रीमान् फर्कने भएपछि पनि निरन्तरता दिन चाहने युवकमाथि गएको माघमा माइती पक्षले शारीरिक हमला नै गर्‍यो र यो झ्गडा महाराजगञ्ज प्रहरी वृत्तमा समेत पुग्यो। प्रहरीले दुवै पक्षलाई एकअर्काको जीवनमा हस्तक्षेप नगर्ने शर्तमा मिलापत्र गराएर पठाएको यो मुद्दामा महिलाले श्रीमानसँगकै सम्बन्धलाई निरन्तरता दिन चाहेकी थिइन्। महाराजगञ्ज वृत्तमै परेको यस्तै अर्को मुद्दामा एक युवतीले नेपाली सेनामा काम गर्ने अस्थायी प्रेमी विरुद्ध गालीबेइज्जतीको कारबाहीसहित आफूले दिएको मोटरसाइकल फिर्ता पाउन माग गर्दै उजुरी दिएकी छन्। यस्ता मुद्दा शुरुमा कुटपिट, गालीबेइज्जतीअन्तर्गत आउने, पछि अर्कै तथ्य खुल्ने प्रहरीहरू बताउँछन्।

पति विदेशिएका कतिपय पत्नीहरूको स्वच्छन्द जीवन शैली र उनीहरूको आर्थिक स्रोतलाई दुरुपयोग कतिपय पुरुषहरूको नियतका कारण धेरै घर बिग्रेका छन्। लाखौं सम्पत्तिसहित पत्नी बेपत्ता हुनु यसैका परिणाम हुन्। महिला सेल कालीमाटीकी प्रहरी निरीक्षक हर्षमाया महर्जन भन्छिन्, “सम्पत्ति लिएर वा नलिएर बालबच्चा छोडी बेपत्ता भएका भनेर उजुरीपर्ने महिलामध्ये धेरैजसो दोस्रो विवाह गरेर बसेका छन्।” यस्ता कुरामा बदनामीको डरले उजुरी नपर्ने घटना पनि धेरै हुन्छन्।

विदेश गएकी पत्नीको कमाई उडाउने, यौन जोडी बनाउने वा अर्को विवाह गर्ने पतिहरूको सङ्ख्या पनि कम छैन। वाफलकी श्रद्धा अमेरिकाबाट फर्केपछि पतिले पुर्ख्यौली सम्पत्तिमा जेठी श्रीमतीको अंश दाबी नलाग्ने आशयका साथ पारपाचुकेको मुद्दा हालेका छन्। महिलाको आर्थिक सबलतालाई स्वीकार नगर्ने परम्परागत पुरुष मानसिकताका कारण पनि यस्तो हुने गरेको समाजशास्त्रीहरू बताउँछन्। पत्नीलाई आफूमा निर्भर ठान्ने तर त्यस्तो आर्थिक अवस्था सिर्जना गर्न नसक्ने पुरुषहरू स्वयं आफ्नो दाम्पत्य जीवनमा तिक्तता ल्याउने कारण हुने गरेको उनीहरूको भनाइ छ। तथ्यहरूले पनि वैदेशिक रोजगारमा गएका महिलाको ठूलो हिस्साले पुरुषहरूको यस्तै प्रवृत्तिका कारण सम्बन्धविच्छेद गर्नुपरेको देखाउँछन्।

सांस्कृतिक मेलमिलापसँगै पारिवारिक र सामुदायिक सम्बन्ध फराकिलो हुँदै गएको तथा युवापुस्ता पश्चिमा जीवनशैलीसँग अभ्यस्त बन्न खोजिरहेकाले दाम्पत्य र यौन सम्बन्धको परिभाषा पनि बदलिँदै गएको छ। एकातिर हिजोका सामाजिक मूल्यमान्यता कमजोर हँुदैछन् भने अर्कातिर खुल्लापनले त्यति आकार लिइसकेको पनि छैन। यही बीचको स्थितिमा विदेशबाट आउने पैसाले मध्यमवर्गीय परिवारहरूमा उपभोगवादी संस्कृति बढाइरहेको छ। जीवनलाई उपभोगमय बनाउने, पैसाका लागि लामो समय विदेश बस्ने प्रवृत्ति बढ्दा युवा दम्पतीहरू टाढा हुने बाध्यात्मक अवस्थासँगै शारीरिक सामीप्यता खोज्ने अवस्थामा पुग्छन्। भर्खरै विवाह गरेर विदेशिएकाको मात्र होइन बालबच्चा हुर्किसकेकाहरूको समेत विवाहेत्तर सम्बन्ध बढ्नुले यही बताउँछ।

वैदेशिक रोजगारमा जाने मात्र होइन, वैवाहिक जीवन तोड्न आर्थिक रूपले सबल हुने महिलाको सङ्ख्या पनि बढिरहेको छ। र, उनीहरू आफ्नो यौनचाहना पनि पूरा गरिरहेका छन्। शिक्षित र आर्थिक रूपले सबल महिलाको अलग पहिचान, हैसियत र निर्णय क्षमताले पतिव्रता सामाजिक संस्कार सहितको परम्परागत पुरुष वर्चस्वलाई चुनौती दिएकाले पनि यस्तो भएको हो। यसबाट एकातिर आजका महिला अब परम्परागत पुरुष दबाब सहन तयार छैनन् भन्ने देखाउँछ भने अर्कोतिर यौनसम्बन्धी नेपाली समाजमा बदलिँदो धारणा देखाउँछ। नेशनल इन्स्टिच्युट अफ साइकोलोजीका मनोविश्लेषक गङ्गा पाठकका अनुसार बालबच्चा हुर्किन लागेको अवस्थामा महिलाहरू आफूलाई सामाजिक रूपमा बढी बन्धनमुक्त, स्वतन्त्र र चञ्चल अनुभव गर्छन्। सामान्यतः ३५ वर्षपछि हुने हर्मोनहरूको उतारचढावले यौन चञ्चलता बढाउँछ। यस अवस्थामा उनीहरू हठी हुनुका साथै सजिलैसित बहकिन्छन् पनि।

कतिपय अवस्थामा परिणामप्रति सचेत रहँदारहँदै जैविक आवश्यकताले पनि विवाहेत्तर यौन सम्बन्धका लागि उक्साउँछ। समाजशास्त्री ढकालका अनुसार युवा जोडीहरूले हिजो सँगै हुँदा कायम राखेको पारदर्शिता, विश्वास र सामीप्यतालाई विदेश गइसकेपछि निरन्तरता दिन नसक्दा एक-अर्काको खोजी कम हुँदै जान्छ। उनी भन्छन्, “यसबाट पारिवारिक जिम्मेवारीभन्दा पनि व्यक्तिगत इच्छा निर्णायक हुँदै जान्छ। र, हिजो सामाजिक मानिने सम्बन्धहरू व्यक्तिगत हुँदै जान्छन्।”

अहिले गाउँघरमै पनि संयुक्त परिवार टुट्दै गएको छ। विवाहपछि सगोलमा नबस्ने र दम्पतीमध्ये एक विदेशिँदा पति वा पत्नी गाउँ छाडेर शहरमा बस्ने चलन बढेको छ। यसरी बसेका महिला वा पुरुषको जोडी विदेशिनेवित्तिकै पारिवारिक र सामाजिक सम्बन्ध अझ् कमजोर हुन जान्छ र यसले उनीहरूलाई झ्न् बढी स्वतन्त्र एवं खुल्ला अनुभव गराउँछ। परिणाम, जोडी विदेशिएकाको परिवार आर्थिक रूपमा सबल हँुदै जाँदा विवाहेत्तर यौन-सम्बन्ध बढ्दछ। कतिपय समाज विश्लेषकहरू यसलाई अस्वाभाविक मान्दैनन्। पत्नीले कुवेतबाट फर्केपछि देखाएको अनौठो व्यवहार सम्झ्ँदै डम्बर कार्की भन्छन्, “विवाह भएदेखि ऊ विदेश जाँदासम्म हामीबीच कहिल्यै झ्गडा भएको थिएन, तर उसले त छोराको भविष्यको समेत चिन्ता गरिनँ।”

संयुक्त परिवारमै बसेका महिलालाई पति विदेश गएपछि शङ्काको दृष्टिले हेरिने र फर्केपछि पतिले समेत अरूको भनाइमा लागेर शङ्का गर्ने अवस्थाले पनि परिवारमा विखण्डन निम्त्याएको देखिन्छ। जस्तो, पति विदेशिएपछि दुई छोराछोरी लिएर भक्तपुरमा बसेकी रोल्पाकी माया घर्तीमगरलाई (नाम परिवर्तन) श्रीमान् फर्केर आएपछि परपुरुषसँग लागेको आरोप लगाए। आरोप मात्र लगाएन, सम्बन्धविच्छेद गरेर तुरुन्तै अर्को विवाह पनि गरे। माया भन्छिन्, “बालबच्चासहित उसैलाई कुरिरहेकी थिएँ, तर फर्केर आएपछि अरूको कुरा सुनेर जथाभावी भन्दै सम्बन्धविच्छेदका लागि दबाब दिन थाल्यो, त्यसपछि मैले पनि दोस्रो विवाह गरेँ।” दाङकी कलावती चौधरी भन्छिन्, “तीन वर्ष परिवार छोडेर बसेको मानिस सुधि्रयो होला भन्ठानेकी थिएँ, तर न घरखर्च पठायो न त शङ्का गर्न छोड्यो। रिसमा मैले पनि मेरो केटा छ, उसैसँग बिहे गर्छुभन्दा कुटेर मरणासन्न बनायो।”

पढाउनु-बढाउनुपर्ने बालबच्चा भएका परिवारका पति विदेशिनु आर्थिक हिसाबले राम्रो देखिए पनि अन्ततः पत्नीहरूका लागि हानिकारक सावित हँुदै गएको छ। गएको अक्टोबरमा काठमाडौंमा भएक&amp