चिन्ता र निराशा ! नयाँ संविधान र शान्ति प्रक्रिया टुंगोमा नपुगेकोमा गहिरो चिन्ता

संविधान लेख्न संविधानसभालाई दिइएको म्याद जेठ १४ मा सकिनै लाग्दा मुख्य दलहरुले समस्या समाधानको निम्ति भनेर शनिवार डाकेको बैठक समेत बस्न सकेन।

खासगरी राजनीतिक दलहरुको यस्तै ढिलाइले मानिसहरुको चिन्ता र निराशा बढेको छ।

“लोकतन्त्र आएपछि जनताले शान्ति पाउँछ भन्थे तर पाएनन्,” पूर्वी नेपालको विर्तामोड शहरकी एक महिलाले भनीन्।

गुनासो

खासगरी नयाँ संविधान निर्माणमा उनीहरुले सहमति गर्न नसकेकै कारण मुख्य दलहरुप्रति मानिसहरुको गुनासो बढेको धेरैको धारणा छ।

यो कुरा शीर्ष नेताहरुलाई पनि राम्रै थाहा छ भन्ने कुराको एउटा उदाहरण प्रधानमन्त्री माधवकुमार नेपालले शनिवारै दिए।

लोकतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षी माओवादीप्रति संकेत गर्दै विमति टुंग्याउन आह्वान गरे।

“फुटेर होइन, जुटेर अघि बढौं, बेमेलबाट होइन, मेलबाट समस्या समाधान गरौं, आरोप प्रत्यारोपबाट होइन, छलफल र बहसबाट समस्या समाधान गरौं,” प्रधानमन्त्री नेपालले भने।

प्रधानमन्त्रीले सहमतिबाट असम्भव कुराहरु सम्भव बनाएको विगतको सम्झना पनि गरे।

‘विमति चर्कियो’

प्रधानमन्त्रीले टुँडिखेलमा सहमतिको भाषण गरिरहेको बेला काठमाण्डौंकै नयाँ बजारस्थित अध्यक्ष प्रचण्डको निवासमा माओवादीका नेताहरुको बैठक चलिरहेको थियो।

सो बैठकको निश्कर्ष भने सहमति होइन विमतिनै चर्किएको आभास दिने खालको थियो।

प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रवार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायहरुमा गरेको नियुक्ति, प्रतिपक्षीलाई बेवास्ता गरेर लिइएकोमा माओवादी, सरकारसंग थप रिसाएको छ।

माओवादीका एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “सहमति नहोस् भन्ने आशयका साथ यो निर्णय भएको हामीले ठानेका छौं।”

भाषण र बैठकमा सहमतिको जतिसुकै भजन गाएपनि, लोकतन्त्र दिवसको अवसर पारेर राजनीतिक गतिरोध फुकाउन महत्वपूर्ण समाधान दिने भनेर शनिवार डाकिएको तीन दलीय उच्च राजनीतिक संयन्त्रको बैठक नबसीकनै स्थगित गरियो।

अन्तिम समयमा एक अर्कालाई दोष लगाएर बैठक स्थगित गरिनाले, लोकतन्त्रको चौथो वार्षिकोत्सवको अवसरमा केही मीठो सन्देश दिने मौकाबाट दलहरु चुकेको धेरैको अनुभव छ।

अन्य समाचारहरु