थाइल्याण्डमा प्रदर्शनकारीद्वारा आत्मसमर्पण / दुई महिनादेखि जारी आन्दोलन फिर्ता

काठमाडौं, जेष्ठ ५ – सेनाले प्रदर्शनकारी बसेको शिविर घेराऊ गरेपछि थाइल्याण्डमा सरकारविरोधी प्रदर्शनकारीहरुले बुधबार दुई महिनादेखि जारी आन्दोलन फिर्ता लिएका छन् । सरकारविरोधी प्रदर्शनकारीका नेताले सरकारसँग आत्मसमर्पण गरेका छन् ।

सेनाले शिविरमा घेराऊ गरेपछि प्रदर्शनकारीहरुले थप क्षति हुन नदिन आत्मसमर्पण गरेको जनाएका छन् । बुधबारमात्रै सेनाको गोली लागेर कम्तिमा पाँच प्रदर्शनकारी मारिए । ती मध्ये एक पत्रकार रहेको स्थानीय अधिकारीहरुले दाबी गरेका छन् ।

राता सर्टधारीहरु प्रदर्शनबाट पछि हटेपछि केही सेता सर्टधारीहरु भने सुरक्षाकर्मीसँग भिडिरहेको बीबीसीले जनाएको छ । सेनाले राजधानी बैंककलाई नियन्त्रणमा लिएको छ ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा नेतृत्वका प्रदर्शनकारीहरुले मंगलबार सरकारसँग वार्ता गरेका थिए । वार्तामा शिविर खाली गर्न सरकारले गरेको आग्रहलाई प्रदर्शनकारीले अस्वीकार गरेपछि वार्ता भंग भएको थियो ।

प्रदर्शनकारीहरुले आत्मसमर्पण गरे पनि वार्ताका लागि सरकार तयार गरेको सरकारका एक सल्लाहकारले बताएका छन् । सरकारविरोधी प्रदर्शनका क्रममा थाइल्याण्डमा कम्तिमा ४० जनाको ज्यान गएको छ ।