– यज्ञमुर्ति तिमिल्सिना/अर्घाँखाँची
यातायात, सञ्चार र विद्युत सुविधा गाउँमै भएपछि यहाँका बासिन्दाले गाउँकै आटो पिठो खाएर शहरका गल्लीमा घुमेजस्तो अनुभव गर्न थालेका छन् । गाउँमा कोही विरामी परे, हल्लीखल्ली हुन्थ्यो कोहीले स्टेचर खोज्न थाल्थे कोहीले गाउँभरीका मान्छे जुटाउन, मान्छे जुटाउँदा जुटाउँदै कोही विरामी मरिसक्थे कोहीलाई चाँही अस्पताल पुर्याउनसम्म पाइन्थ्यो, अहिले त घर घरमै मोटरबाटो आएपछि धेरै सुविधा भएको छ । मैदान ६ अर्घाँखाँचीका रामप्रसाद घिमिरेले भने ।
लगातार १८ घण्टा पैदलबाटो डोको वा स्टेचरमा विरामी बोकेर तानसेन मिसन अस्पताल पुर्याउँदाको अनुभव सुनाउँदै मैदान ४ अर्घाँखाँचीका शेषकान्त घिमिरे भन्छन् लामो बाटोका कारण अस्पताल पुर्याउँदा पुर्याउँदै अधिकांश विरामी मरिसक्थे विरामी बोकेर जानेहरु समेत थकानले बिरामी हुन्थे र अस्पताल भर्ना हुनुपथ्र्यो ।
अहिले अर्घाँखाँची जिल्लाका ४२ वटा गाविसमध्ये सबै गाविसका करिव सबै वडाहरुमा कच्ची मोटरबाटो पुगेको छ । त्यसैले यो जिल्लालाई ग्रामीण सडकका लागि दक्षिण एसियाकै नमुना जिल्ला मानिन्छ । मोटरबाटोको विकास पछि कोही विरामी परे जीपलाई फोन गर्नासाथ आउँछ ३ घण्टामा अस्पताल पुर्याउँछ पणेना ९ का हुमकान्त पाखरेलले भने । मोटरबाटोको विकासले यहाँ निकै सुविधा पुगेको छ, पोखरेल अगाडि भन्छन् गाउँमा मोटरबाटो ल्याउन हामीले हजारौ लगानी गरेका छौ । मोटरबाटो आएपछि गाउँमै गाडी आउने आसमा २, ३ महिनासम्म जनश्रमदान गर्दा समेत यहाँ कसैले पनि थकानको महसुस गरेनन् ।
यहाँका कतिपय बुढापाकाहरुले गाउँमै मोटरबाटो आउला र गाडीमा चढेर सदरमुकाम जान पाइएला भनेर कल्पना समेत गरेका थिएनन् रे । पणेना ९ का खिमानन्द पोखरेल भन्छन् यसरी सररर गाउँमै गाडी आउला भनेर त मैले कल्पना समेत गरेको थिइन, हेर्दाहेर्दै आफ्नै घरछेउमा आएर मोटर रोकिदा सपना जस्तो लाग्छ ।
सम्वन्धित गाउँ विकास समितिको गाउँ परिषद्मा समेत सहभागी हुँदै आएका मैदान ६ का रामप्रसाद घिमिरे भन्छन् गाविसबाट पनि हामीले मोटरवाटाको विकासका लागि नै पहिलो प्राथमिकता दिँदै आएका छौ । उनले अगाडि भने घरघरमा मोटरबाटो पुगेको छ नियमित गाडी पनि चल्छ , छोरानातीले देश विदेशबाट फोन गर्छन, आँगनको डिलमा बसेर मज्जाले बोल्न पाइन्छ, सोलारबाट बिजुली बालेका छौ, टेलिभिजनमा समाचार हेर्र्छौ हामीलाई त गाउँमा बसेका छौ भन्ने महसुस नै हुँदैन ।
मोटरबाटोको विकास भएपछि यहाँका बासिन्दाले गाडीमा मात्र चढ्न पाएका छैनन्, उपभामेग्य बस्तुको मुल्य समेत बुटवल पाल्पाकै दरमा उपलव्ध छ । यसअघि २ दिनको बाटो बुटवल, पाल्पाबाट बोकाएर ल्याइएको सामानको मूल्य अत्याधिक हुने गरेपनि अहिले यातायातको सधानमा सामान आयात गरिन थालिएपछि बस्तुको मूल्य सन्तुलित रहेको स्थानीय होटल सञ्चालक शेषकान्त घिमिरे बताउँछन् ।