चीन-अमेरिकाबीच बेइजिङमा उच्च वार्ता, सैन्य आदानप्रदान वार्ता पुनः हुने

– पूर्ण बस्नेत

 

हङकङ, चीन  – अमेरिकाबीच मंगलबार बेइजिङमा सम्पन्न उच्च वार्ताले सैन्य आदानप्रदान पुनः शुरु गर्न बाटो खोलेको छ। यस सम्बन्धी औपचारिक निर्णय नगरिए पनि चिनियाँ र अमेरिकी सैन्य अधिकारीबीच यसै महिनाभित्र छलफल हुने र त्यसपछि सैन्य आदानप्रदान पुनः शुरु हुने अनुमान गरिएको छ।

 

बेइजिङ वार्ता र कोरियाली प्रायद्वीपमा बढेको तनावले दुई देशका सैन्य अधिकारीहरू सँगै बस्ने वातावरण बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्।


हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोष्टले मंगलबारको अंकमा अमेरिकी प्यासेफिक कमाण्डका प्रमुख रोबर्ट विलियार्ड र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मा सिओटिनबीच बेइजिङमा वार्ता हुने उल्लेख गरेको छ। ताइवानलाई हतियार बेच्ने वासिङ्टनको निर्णयको विरुद्धमा बेइजिङले सैन्य आदानप्रदान कार्यक्रम स्थगित गरेपछि दुई शक्ति राष्ट्रका सैन्य अधिकारबीच यो पहिलो भेटघाट हुनेछ।


कोरियाली प्रायद्वीपमा बढेको तानावले चीन र अमेरिकाबीच बेइजिङमा सम्पन्न दुई दिने द्विपक्षीय वार्ताका रणनीतिक र आर्थिक एजेण्डा छायामा परेका छन्। पहिले नै निश्चित गरिएका एजेण्डामा मंगलबार छलफल भए पनि सोमबारको वार्ता कोरियाली तनावमा बढी केन्द्रित भएको थियो।


चीनका राष्ट्रपति हु जिन्ताओले दुई देशबीच उच्च वार्ताको नेतृत्व गर्ने अमेरिकी राष्ट्रपतिका विशेष दूत विदेशमन्त्री हिलारी क्लिन्टन र अर्थमन्त्री तिमोथी गेइथनेर तथा आफ्ना विशेष दूत उपप्रधानमन्त्री वङ क्वीसन र स्टेट काउन्सीलर दई विङ्गुओलाई मंगलबार वार्ता समापनपछि भेटेर धन्यवाद दिएका छन्। राष्ट्रपति जिन्ताओले वार्ताले द्विपक्षीय सम्बन्ध बलियो बनाउन मद्दत पुगेको बताए। चिनियाँ प्रधानमन्त्री वेन जियावाओले पनि ठूलो संख्याको दुर्लभ वार्ता सम्पन्न गरेकोमा विशेष दूतहरूलाई बधाई दिए। दुई देशबीचको पहिलो उच्च वार्ता गत वर्ष वासिङ्टनमा भएको थियो।


सोमबार बेइजिङको ग्रेट हल अफ द पीपुलमा वार्ताका सहभागीहरूबीच उद्घाटन मन्तव्य दिँदै राष्ट्रपति जिन्ताओले तिब्बत र ताईवान जस्ता चीनका संवेदनशील आन्तरिक मामला बुझिदिन आग्रह गर्दै चिनियाँ मुद्रा युयानको अमेरिकी डलरसँग विनियमय दर मिलाइने बताएका थिए। राष्ट्रपति जिन्ताओले सम्बोधनमा नछोएका मुद्दा उत्तर कोरिया र इरानको मामलामा वासिङ्टनसँग मिलेर काम गर्न अमेरिकी विदेशमन्त्री क्लिन्टनले बेइजिङलाई आग्रह गरेकी थिइन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता मा झाओक्सुले कोरिया मुद्दामा सबैले ठण्डा दिमागले सोचेर कदम चाल्नु पर्ने प्रतिक्रिया दिएका छन्।


दुवै देशका करिब ४० वटा विभागका ५० जना भन्दा बढी सहभागी भएको उच्च बैठकमा ब्यापार, चिनियाँ मुद्रा युयानको मूल्याङ्कन, इरानको आणविक शक्ति र कोरियाली प्रयाद्विपको तनाव बारे छलफल भएको बताइएको छ। ताइवानलाई हतियार बिक्रि गर्ने वासिङ्टनको निर्णय तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाले तिब्बती धार्मिक नेता दलाई लामालाई भेटेपछि बढेको चीन-अमेरिका तानवलाई यो वार्ताले घटाएको विश्वास गरिएको छ।


जापान हुँदै बेइजिङ आएकी अमेरिकी विदेशमन्त्री क्लिन्टन बुधबार कोरिया तनाव बारे छलफल गर्न दक्षिण कोरियाको राजधानी सोल जाने कार्यक्रम छ। कोरिया मामलाका लागि चिनियाँ विशेष दूत यू दवेइ दक्षिण कोरियाली विदेशमन्त्रीसँग वार्ता गर्न मंगलबार नै त्यहाँ पुगेका छन्।