– गणेश चुदाली
अर्घाखाँचीको भगवती गाविस-८ विसौनामा सोमबार विहान जीप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाईते हुनेहरुमा गुल्मी दिगाम गाविस- ८ का २२ बर्षीय जीप चालक विष्णु भण्डारी, दिगामकै अनिल भण्डारी र अर्घाखाँची भगवती गाविसका रामप्रसाद पाण्डे छन् । घाइतेमध्ये चालक भण्डारीको अबस्था गम्भीर छ । घाइते सबैको जिल्ला अस्पताल गुल्मीमा उपचार भईरहेको छ ।
अर्घाखाँचीबाट गुल्मी आउँदै गरेको लु १ज १७९३ नम्बरको जीप उकालो कच्ची बाटोमा चढ्न नसकेपछि पछाडी गुडेर सडकबाट पचास मिटर तल खसेर दुर्घटना भएको हो ।
गुल्मीकै खबरमा दिब्रुङ सराङ मैदानमा रहेको शारदा माध्यमिक विद्यालयको जस्ताको छाना गएराति आएको हुरी बतासले उडाउँदा विद्यालय भवन क्षतिग्रस्त भएको छ । हुरीका कारण विद्युतको ट्रान्सफरमरमा क्षति पुगेपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अबरुद्ध भएको छ ।