दाङ , जेष्ठ २२ – दाङको देउखुरीमा गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रोल्पातर्फ जाँदै गरेको ना ४ ख ७७९ नम्बरको बस र लमहीबाट कोहलपुरतर्फ जाँदै गरेको ना १ क १७६४ नम्बरको ट्रक सतबरियामा क्रस गर्ने क्रममा ट्रकमा ठोक्किएर प्युठान भिंग्री गाविस वडानं. ९ निवासी ५५ वर्षीय देबबहादुर घर्तीको मृत्यु भएको हो ।
बसमा सवार घर्तीले टाउको बाहिर निकालेकाले क्रस गर्ने क्रममा ट्रकले टाउको किचिदिएको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । ट्रकले गाडीको छेउको भागमा ठक्कर लाग्दा अन्य चार यात्रु पनि घाइते भएका छन् । घाइतेहरुको सामुदायिक अस्पताल लमहीमा उपचार भैरहेको प्रहरीले बताएको छ । ट्रक र बस प्रहरीको नियन्त्रमा रहेको छ । बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।