पाकिस्तानको कराँची सहरमा भएको छुट्टाछुट्टै गोली हानाहानमा कम्तीमा बत्तिस जनाको मृत्यु भएको छ। मोटरसाइकलमा आएका छ बन्दुकधारीले शिरशाह कबारी मार्केटमा अन्धाधुन्ध गोली चलाउँदा तेह्र जनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीहरु मार्केटमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएर भागेका थिए। प्रहरीका अनुसार सो घटनामा गम्भीर रुपमा घाइते भएकाको संख्या निक्कै ठूलो रहेको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको छ।
उता कराँचीका विभिन्न भागमा भएको गोली हानहानमा उन्नाइस जना मारिएको बताइएको छ। शनिबार यता कराँचीमा भएको हिंसात्मक घटनामा परी सत्तरी जनाको मृत्यु भएको छ। अगष्ट महिनामा मारिएका सांसदको स्थानमा उपचुनाव नजिकै जाँदा हिंसाका घटनामा वृद्धि हुन थालेको हो। तर, पछिल्लो घटना निर्वाचनसँग सम्बन्धित भए नभएको भन्ने विषयमा भने अधिकारीहरुले केही बताएका छैनन्।।