बेलायतको गठबन्धन सरकारद्वारा दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो सार्वजनिक खर्च कटौतीको घोषणा



 

बेलायतको गठबन्धन सरकारले सामाजिक कल्याण तथा अन्य क्षेत्रमा ब्यापक मात्रामा सरकारी खर्च कटौतीको घोषणा गरेको छ। प्रधानमन्त्री डेविड क्यामरुन नेतृत्वको सरकाले गर्न लागेको खर्च कटौती दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो सार्वजनिक खर्च कटौती भएको बताइएको छ।

 

बेलायती अर्थमन्त्री जर्ज ओसवोर्नेले संसद संबोधन मार्फत मितब्ययी नीतिहरुको घोषणा गरेका हुन्। सरकार खर्च कटौती गरेर कुल गार्हस्त उत्पादनमा भैरहेको एघार प्रतिसतको बजेट घाटालाई पाँच वर्ष भित्र दुई प्रतिशतमा झार्ने योजनामा छ। सरकारी योजना कार्यन्वन भएमा बेलायतमा सार्वजनिक सेवाका कम्तिमा पनि पाँच लाख रोजगारी कटौती हुने र बाह्र लाख परिवारले आफ्ना छोरा छोरीका लागि पाउँदै आएको अनुदान दुई वर्ष पछि गुमाउने छन्।

 

सरकारी कटौतीले प्रसिद्ध बेलायती समाचार संस्था विविसीले पाउँदै आएको अनुदान देखि महारानी एलिजावेथ समेत प्रभावित हुने बताइएको छ। बेलायत लगायत विभिन्न युरोपेली सरकारले खर्च कटौतीको योजना सार्वजनिक गरेपछि अधिकाँश युरोपेली देशहरुमा विरोध प्रदर्शन भैरहेको छन्।