भारतमा मलेरियाबाट प्रत्येक वर्ष दुई लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। लांसेट नामक चिकित्सा पत्रिकाले सो तथ्य सार्वजनिक गरेको हो।
विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको भन्दा यो संख्या तेह्र गुणाले बढी हो। विश्व स्वास्थ्य संगठनले भने भारतमा प्रतिवर्ष पन्ध्र हजार मानिसको मात्र मलेरियाका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो। लांसेटले प्रकाशित गरेको लेखमा विश्व स्वास्थ्य संगठनसँग क्लिनिक र अस्पतालमा मृत्यु भएका विरामीको मात्र तथ्यांक रहेको दाबी गरेको छ। तर, मलेरियाबाट ठूलो संख्यामा मानिसको घरैमा मृत्यु हुने गरेको पत्रिकाले दाबी गरेको छ।
विज्ञहरुका अनुसार मलेरियाबाट मृत्यु हुनेहरुको वास्तविक संख्या पत्ता लगाउन निक्कै कठिन हुने गर्दछ। तर, लांसेटले तथ्यांक जुटाउन प्रशिक्षित कार्यकर्ता परिचालन गरेको र मृतकका परिवारसँग मृत्यु कसरी भयो भन्ने जानकारी लिएर चिकित्सकबाट समीक्षा गराएपछि मात्र यो तथ्यांक सार्वजनिक गरेको उल्लेख गरेको छ।