फ्रान्समा अवकाशको उमेरहद बढाइएको विरोधमा प्रदर्शन जारी, सरकारलाई झुकाएरै छाड्ने श्रम संगठनको चेतावनी

फ्रान्समा सरकारको नयाँ पेन्सन सुधार योजनाको विरोधमा उत्रिएका कामदारले तटीय सहर मार्सेस्थित क्षेत्रीय विमानस्थल केही समयका लागि बन्द गरिदिका छन्। प्रशोधनशालामा भइरहेको हड्तालको दश दिन पूरा भइसकेको छ। हड्तालका कारण फ्रान्सका एक तिहाइभन्दा बढी पेट्रोल स्टेसन बन्द छन्। तेल हड्तालको असर ट्रक तथा लरी ड्राइभर हुँदै क्षेत्रीय विमानस्थलसम्म पुगेको छ।
 
 सरकारलाई झुकाएरै छाड्ने भन्दै हड्तालमा उत्रिएका श्रमसंगठनहरुले नयाँ चरणका विरोध कार्यक्रमका विषयमा छलफल सुरु गरेका छन्। प्रदर्शनकारीले मार्से विमानस्थल जाने बाटो बन्द गरिदिएपछि केही समयसम्म त्यहाँका क्रियाकलाप अवरुद्ध भएको थियो। केहीपछि सुरक्षाकर्मीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको बताइएको छ। फ्रान्समा सरकारले अवकाश तथा पेन्सन पाउने उमेर सीमा बढाउने योजना अघि सारेपछि त्यहाँ लामो समयदेखि हड्ताल र प्रदर्शन भइरहेको छ।