केन्याको राजधानी नैरोवीमा फुटबल हेर्न गएका दर्शकहरुको भागदौडका कारण सात जनाको मृत्यु भएको छ। केन्याको दुई प्रमुख टिमबीच हुन लागेको खेल हेर्न न्यायो रंगशाला पुगेका ठूलो संख्याका दर्शक रंगशाला प्रवेश गर्ने क्रममा सो घटना भएको हो। ६ जनाको रंगशालामा नै र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। सो घटनाका बाबजुद गोर माहिया र ए एफ सी लियोपार्डबीचको खेल भने सम्पन्न भएको थियो।
केन्या प्रिमियर लिगका प्रमुख ज्याक ओगुडाले भने सो घटनाका विषयमा अनुसन्धान गरिने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भने दर्शकहरुलाई भित्र प्रवेश गर्न निक्कै लामो सयमसम्म कुराइएको र केही दर्शकहरुले उत्तेजित भई एउटा ढोका फोरी भित्र प्रवेश गर्ने प्रयास गर्दा सो घटना भएको बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार सो घटनामा अन्य थुप्रै घाइते भएका र घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन्। केन्यामा सन् दुई हजार पाँचमा पनि यस्तै घटना घटेको थियो।