मेक्सिकोको सियुदाद जुआरेज सहरमा आयोजित पार्टीमा बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाउँदा तेह्र जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन्। अधिकारीहरुका अनुसार शनिवार भएको सो घटनामा मारिनेहरु धेरैजसो चौधदेखि बीस वर्ष उमेरका रहेका छन् भने एक जना नौ वर्षीय बालक समेत रहेका छन्। प्रहरीका अनुसार तीनवटा गाडीमा आएका बन्दुकधारीले पार्टी भइरहेको घरमा प्रवेश गरी गोली चलाउन थालेका थिए।
प्रहरीले घटनास्थलबाट सत्तरी वटा गोलीका खोका भेटाएको र ती खोकाहरु लागू पदार्थका तस्करहरुले प्रयोग गर्ने असल्ट राइफलको भएको बताएको छ। बन्दुकधारी सबै जना भाग्न सफल भएका छन्। सियुदाद जुआरेज सहरमा यससाता यस्तै आक्रमण भएको यो दोस्रो पटक हो। त्यस्तै शनिबार नै भएको एक अर्को घटनामा बन्दुकधारीहरुले नौ जनाको हत्या गरेका थिए। उक्त घटनामा सहभागी कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन। उक्त सहरमा लागू पदार्थ तस्करको समूहहरुबीच समय समयमा भिडन्त हुने गर्दछ। तर पछिल्लो घटना तस्करीसँग सम्बन्धित छ वा छैन भन्ने एकिन हुन सकेको छैन। अमेरिकासँग सीमा जोडिएको सो सहरलाई हतियारधारी तस्करहरुको समूहले आफ्नो नियन्त्रणमा लिने प्रयास स्वरुप आफ्ना प्रतिद्वन्दी समूहहरुमाथि आक्रमण गर्ने गरेका छन्। सन् दुई हजार दशमा मात्र सिउदाद जआरेजमा एक हजार जना लागू पदार्थसँग सम्बन्धित हिंसामा परी मारिएका छन् भने विगत दुई वर्षमा पाँच हजार मानिसको मृत्यु भएको छ।।