महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८

बर्दिवास। महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।गत भदौ मसान्तसम्ममा ४५ मात्र सङ्क्रमित रहेकामा असोज महिनाभरिको परीक्षणबाट तीनजना थपिएपछि जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।


पछिल्लोपटक परियोजनाले सञ्चालन गरेको स्वेच्छिक परामर्श एवम् रक्त परीक्षण केन्द्र -भिसिटी सेन्टर) मा एकजना डेढ वर्षको बालकसहित तीनजनाको रक्त परीक्षणमा सङ्क्रमण फेला परेपछि सङ्क्रमितको सङ्ख्या ४८ पुगेको परियोजना प्रबन्धक धीरज पौडेलले जानकारी दिनुभयो ।


सङ्क्रमितमध्ये चार बालकसहित २६ जना पुरुष र दुई बालिका सहित २२ जना महिला रहेको परियोजनाले जनाएको छ ।


सङ्क्रमित बालबालिका पाँच वर्षमुनिका रहेको बताइएको छ । जिल्लामा परियोजनाले मात्र एचआइभी परीक्षणका लागि भिसिटी सेन्टर २०६१ साल साउनदेखि सञ्चालन गर्दै आएको छ ।


यस अवधिमा ९४५ जनाले स्वेच्छिक रुपमा एचआइभी जाँचका लागि रक्त परीक्षण गराएका प्रबन्धक पौडेलले जानकारी दिनुभएको छ ।