अफगानिस्तानका राष्ट्रपति हमिद काजाईले उनको कार्यालयले इरानबाट नगद प्राप्त गरेको भन्ने अमेरिकी सञ्चार माध्यमको दावीलाई स्वीकार गरेका छन्। यद्यपी यो पारदर्शी प्रक्रिया भएको कार्जाइको दावी छ। अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले कार्जाइका सहयोगीले तेहरानबाट नगद भरी भएका झोला प्राप्त गरेको खबर प्रकाशित गरेको थियो। सो पैसा तेहरानले काबुलमाथिको आफ्नो चासोलाई प्रवर्द्धन गर्न प्रदान गर्न दिइएको दावी पनि न्यूयोर्क टाइम्सले गरेको थियो।
यद्यपी, कार्जाइले भने पैसा कुनै ब्यक्तिगत रुपमा नभइ कार्यालय सञ्चालनका लागि आएको बताएका छन्। काबुलमा आयोजित पत्रकार सम्मेलनमा कार्जाइले अफगानिस्तानलाई अमेरिका लगायतका विभिन्न देशले त्यसै गरी पैसा दिइरहेको जिकिर गरे। इरान सरकारले वर्षमा एक वा दुई पटक पाँच, छ वा सात लाख युरोसम्म सहयोगको रुपमा अफगानिस्तानलाई दिने गरेको र सो औपचारिक सहयोग भएको पनि कार्जाइले बताए। अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई यस बारेमा जानकारी दिइएको कारजाहीको भनाइ थियो।
कार्जाइका सहयोगीले प्राप्त गरेको पैसा उनीहरुबाट समर्थन पाउनका लागि अफगानी राजनीतिज्ञ, जातीय नेता तथा पाकाहरुका साथै तालिबान कमाण्डरहरुलाई समेत दिइएको दावी पश्चिमा अधिकारीहरुले गरेका छन्। सोमबार मात्र काबुलस्थित इरानी दुताबासले सो खबर अपमानजनक भन्दै खण्डन गरेको थियो।