इरानले आफ्नो पहिलो आणविक पावर प्लान्टमा इन्धन भर्न शुरु गरेको इरानी सञ्चार माध्यमद्वारा जानकारी


 

इरानले आफ्नो पहिलो आणविक पावर प्लान्टमा इन्धन भर्न शुरु गरेको जानकारी त्यहाँका राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। इरानी तथा रुसी इञ्जिनियरहरुले गत अगष्टमा नै बुशेरस्थित आणविक भट्टीमा इन्धन भर्न शुरु गरेको भएपनि त्यसबेला काम रोकिएका कारण ढिलाइ हुन पुगेको हो। दक्षिणी इरानमा रहेको सो आणविक भट्टीमा इन्धन आपुर्ती र फोहोर ब्यवस्थापन रुसले गर्ने छ।

 

इरानले सो भट्टीबाट सन् दुई हजार एघारको शुरु देखि विद्युत उत्पादन शुरु हुने बताएको छ। बुशेरस्थित सो आणविक भट्टीको निर्माण कार्यको शुरुवात जर्मन इञ्जिनियहरुले सन् उन्नाइस सय पचहत्तरमा गरेको भएपनि पटक पटकको अवरोधपछि रुसका इञ्जिनियहरु समेत मिलेर सो परियोजना पुरा गरेको हुन्। इरानले आफ्नो युरेनियम सम्बर्द्धन कार्यक्रमका कारण राष्ट्रसंघ सुरक्षा परिषदबाट चार चारणका नाकाबन्दी खेपिरहेको छ।

 

अमेरिका र इजरेलले इरान आणविक बम बनाउने प्रयासमा रहेको दावी गर्दै आएका छन्। यद्यपी इरानले भने आफ्नो आणविक कार्यक्रम विसुद्ध गैर सैनिक प्रयोजनको उर्जा उत्पादनका लागि भएको दावी गर्दै आएको छ।