इण्डोनेशियाको सुमात्रा टापुमा भूकम्प पछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या एक सय तेह्र पुगेको छ। सुनामीमा परी पाँच सय जना भन्दा बढी अझै हराईरहेका छन्। मेन्टावाइ टापू समूह नजिकै केन्द्र भएको सात दशमलव सात रेक्टर स्केलको भूकम्पपछि त्यहाँ सुनामी आएको थियो। सुनामीसँगै भिषण वर्षा भैरहेका कारण उद्धारका लागि त्यहाँ पुगेका हेलिकोप्टर समेत अवतरण गर्न नसकेको अधिकारीहरुले बताएका छन्।
मेन्टावाइमा सुनामी आउने चेतावनी सन्देश प्रशारण गर्ने प्रणाली रहेको भएपनि सो सन्देश स्पष्ट नभएका कारण मानिसहरु सुनामीको चपेटामा परेको बताइएको छ। भूकम्पका कारण थुप्रै गाउँहरु पुरै ध्वस्त भएको र सुनामीमा बगेको प्रत्यक्षादर्शीहरुले बताएका छन्। भूकम्प पछि समुद्रमा तीन मिटर अग्ला सम्म लहर पैदा भएको उनीहरुको भनाइ छ। भूकम्पको मार परेको केही क्षेत्रहरुमा ठूलो संख्यामा महिला र वालवालिका हराइ रहेको समाचारमा उल्लेख छ।।