इण्डोनेसियाको सुमात्रा टापुमा भुकम्पपछि आएको सुनामीमा हराइरहेका सयौं मानिसको खोजी कार्य जारी रहेको छ। पश्चिमी दुर्गम इलाकामा तीन दिन अघि गएको सुनामीका कारण हालसम्म तीन सय सैतिस जनाको मृत्यु भइसकेको छ। अधिकारीहरुका अनुसार सुनामीमा परी अझै चार सय मानिस हराइरहेका छन्।
पश्चिमी सुमात्रा, मेन्टावाई टापु लगायतका स्थानमा सात दशमलब सात रेक्टर स्केलको भुकम्पसँगै करिब तीन मिटर अग्लो आँधीको लहर आएको खबरमा जनाइएको छ।
सुनामीपछि आएको लहरले करिब एक दर्जन गाउँ बगाएको अधिकारीहरुले जनाएका छन्। हेलिकप्टर मार्फत स्वास्थ्यकर्मीको टोली सुनामी प्रभावित क्षेत्रमा पुग्ने प्रयासमा भए पनि खराब मौसमका कारण उक्त क्षेत्रमा टोली पुग्न सकेको छैन। सन्चार सेवा अवरुद्ध भएका कारण सुनामीबाट मृत्यु हुनेको वास्तविक तथ्याङ्क र उद्धार कार्यमा अवरोध सिर्जना भएको खबरमा उल्लेख छ।