अमेरिकी राष्ट्रपति बाराक ओबामाले यमनबाट अमेरिका जाँदै गरेको विमानमा भेटिएका शंकास्पद झोलामा विष्फोटक पदार्थ रहेको बताएका छन्। ओबामाले उक्त घटनालाई गम्भीर रुपमा लिइएको पनि बताएका छन्। यमनबाट अमेरिकाको शिकागोका लागि प्रस्थान गरेका २ वटा मालवाहक विमानमा शंकास्पद झोला भेटिएपछि अनुसन्धानकर्ताले परीक्षण गरेका थिए।
उनीहरुले झोलामा विष्फोटक सामाग्री रहेको बताएपछि अमेरिकामा सुरक्षा ब्यवस्था कडा बनाइएको छ भने संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। अमेरिकी अधिकारीहरुलाई शंकास्पद झोलासँग सम्बन्धित जानकारी बेलायतको राजधानी लण्डनबाट प्राप्त भएको थियो। विमान अमेरिका जाने क्रममा दुवई र लण्डनमा रोकिएको थियो। अधिकारीहरुले लण्डन र दुबईको विमानस्थलमा पनि शंकास्पद झोलाहरु भेटिएको बताएका छन्। ती झोलाहरुमा पनि विष्फोटक पदार्थ रहेको बताइएको छ।
ह्वाइट हाउसले आतंकवादीहरुको धम्कीका सम्बन्धमा साउदी अरेवियाले सूचना उपलब्ध गराउन सहयोग गरेको जनाएको छ। यहुदीहरुमाथि आक्रमणको योजना बनेको आशंका ब्यक्त गरेका कारण शिकागोको यहुदी संघले विश्वभरका यहूदी समुदायलाई सावधान रहन चेतावनी जारी गरिएको छ। अमेरिका बाहेक बेलायत र मध्यपूर्वमा पनि सुरक्षा सम्बन्धी उच्च सतर्कता अपनाइएको बताइएको छ।