इराकमा नौ महिना लामो राजनीतिक गतिरोधको अन्त्य, सिया सम्बद्ध नेता नुरी अल मलिकी पुनः प्रधानमन्त्री नियुक्त

इराकमा नवनियुक्त राष्ट्रपति जलाल तालावनीले सीया सम्बद्ध नेता नुरी अल मलिकीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन्। करिब नौ महिना लामो राजनीतिक गतिरोध अन्त्य गर्र्न राजनीतिक दलहरुबीच सम्झौता भएपछि काम चलाउ सरकारका प्रधानमन्त्री मलिकीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। तर सुन्नी सम्बद्ध अल इराकीया गठबन्धनका पूर्व प्रधानमन्त्री इयाद अलावीले बिहीवारको संसद बैठक बहिष्कार गरेपछि भने राजनीतिक गतिरोध अन्त्य हुनेमा आशंका बढेको छ।।

 

 सुन्नी समर्थित गठबन्धनका नेताहरुले मलिकीले चार जना सुन्नी नेतामाथि लगाइएको प्रतिबन्ध हटाउने सहमति कार्यान्वन नगरेको आरोप लगाएका छन्। ती चार जना नेताहरु पूर्व इराकी शासक सद्दाम हुसैन नेतृत्वको वाथ पार्टीबाट सुन्नी गठबन्धनमा सामेल भएका थिए। बिहीवार निर्धारित समयभन्दा ढिलो संसद बैठक सुरु भएको थियो।