पाकिस्तानको राजधानीमा रहेको प्रहरी अनुसन्धान विभागमा कार बम विष्फोट, कम्तीमा बीस जनाको मृत्यु






पाकिस्तान को कराँची शहरमा गराइएको कार बम विस्फोटनमा परी कम्तीमा बिस जनाको मृत्यु भएको छ। प्रहरी अनुसन्धान विभागको भवनमा गराइएको सो बम विस्फोटनमा परी करिब एक सय जना घाइते भएको जानकारी पाकिस्तानी संचार माध्यमहरुले दिएका छन्।

 

मारिनेमा केही प्रहरी अधिकारी पनि रहेको हुन सक्ने कराँची प्रहरी स्रोतले जनाएको छ। विस्फोट भएको स्थान नजिक महिला प्रहरी चौकी रहेका कारण केही महिला प्रहरी जवान पनि मारिएको हुन सक्ने आशंका गरिएको छ। विस्फोट गराउनु पूर्व हतियारधारी लडाकूहरुको एक समूहले अन्धाधुन्ध गोली चलाएको समाचारमा जनाइएको छ। सो विस्फोटनको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ।  सुरक्षा निकै कडा भएको सो क्षेत्र नजिक सिन्ध प्रान्तका मुख्यमन्त्रीको निवास, अमेरिकी राजदूतावास र पाँच तारे होटल रहेको छ।

 

प्रत्यक्षदर्शीका अनुसार एक गाडी भवनमा प्रवेश गर्न खोजे लगत्तै बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो। बन्दुकधारी र सुरक्षाकर्मी बीचको गोली हानाहान पश्चात् बन्दुकधारीले विष्फोटक पदार्थले भरिएको गाडी अनुसन्धान विभागको पर्खालमा ठोकाएका थिए। समचारमा जनाइए अनुसार विस्फोट भएको स्थानमा तीन मिटर गहिरो खाडल भएको र अपराध अनुसन्धान भवन पूर्णरुपमा ध्वस्त भएको बताइएको छ।