अर्घाखाँची – वर्षौदेखि विभिन्न किसिमको आँखाको रोगबाट पीडित बन्दै आएका अर्घाखाँची जिल्लाको पूर्वी गाविस बल्कोटका बासिन्दाहरु गाउँमै आँखा शिविर आएर रोगको उपचार गराउन पाउँदा हर्षित भएका छन् ।
नेपाल भारत मैत्री संघ र रणअम्बिका आँखा अस्पताल भैरहवाको सहयोगमा जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीले २ दिने निःशुल्क आँखा शिविर संचालन गरेपछि घरमै बसेर रोगको उपचार गराउन पाउँदा यहाँका बासिन्दाहरु खुशी भएका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा संचालित शिविरमा बल्कोट केरुङ्गा चिदिका छत्रगंज भगवती पाली ठूलापोखरा अड्गुरी लगायत अर्घाखाँचीका १० गाविस र गुल्मी जिल्लाका समेत आँखाका बिरामीहरुले रोगको उपचार गराएका थिए ।
शिविरमा ६ सय ११ जना बिरामीको आँखा जाँच गरिएकोमा ४० जनाको मोतियाबिन्दुको अप्रेशन गरिएको जिल्ला आँखा उपचार केन्द्रका इन्चार्ज सागर घिमिरेले बताए । रासस