अर्घाखाँचीको बाँगी गाविसका ताम्राकारहरुको तामाका भाँडा बनाउने पेशा संकटमा

अर्घाखाँची – अर्घाखाँची जिल्लाको बाँगी गाविसका ताम्राकारहरुको तामाका भाँडा बनाउने पेशा संकटमा परेको छ ।

 

तामाको मूल्यमा बृद्धि हुनुका साथै बजारमा कमसल किसिमका सिल्टी र प्लाष्टिकका भाँडाहरु पाइन थालेपछि आफ्नो पेशा संकटमा परेको उनिहरुको भनाई छ । अर्घाखाँची जिल्लाको बाँगी गाविस वडा नं.५ र ६ का २० परिवार विश्वकर्मा जातीका मानिसहरुले पुख्र्यौलीरुपमा तामाका भाँडा बनाउँदै आएकोमा हाल ७ परिवारले मात्र तामाका भाँडा बनाउने गर्दछन् ।  तामाका भाँडा बनाउँदा परिवारको खर्च चलाउन नसकेपछि आफूहरु ज्याला मजदुरी गर्न लागेको उनीहरुको भनाई छ । नयाँ िपंढीको यो ब्यवसायप्रति आकर्षण नबढ्नु र सिप भएका पुराना मानिसहरु क्रमशः बुढा हुँदै जाँदा तामाका भाँडा बनाउने ब्यवसाय संकटमा परेको छ ।

 

कुनै समयमा तामाका भाँडा बनाएर अर्घाखाँची गुल्मी प्यूठान पाल्पाका गाउँ गाउँमा चाहार्दै हिड्ने उनीहरु अहिले पेशा छोड्ने कि संचालन गर्ने भन्ने दोधारमा रहेका छन् ।

 

पुरानो तामोलाई आगोमा गालेर गाग्री रोंचे हत्तर ताउलो ताउली तमउरो आमखोरा पैनीलगायतका विभिन्न भाँडाहरु उनीहरुले बनाउँदै आएका छन् । सरकारले साना तथा कुटिर उद्योगहरुलाई प्राथमिकिकरणमा राखेको बताउँदै आएपनि आफूहरुले राज्यबाट कुनै सहयोग नपाएको उनिहरुको गुनासो छ । गणतन्त्रको स्थापनापछि मुलुकमा सबै क्षेत्र जाती र ब्यवसायका मानिसहरुप्रति राज्यले ध्यान पुर् याएको भएपनि आफूहरुको लागि गणतन्त्र कौवालाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको मान बहादुर ताम्राकारले बताए । गाउँका अरु युवाहरुले तामाका भाँडा बनाउने ब्यवसायलाई तिरस्कार गरेपनि बाँगी ५ का ३६ वर्षीय हेमलाल ताम्राकारले भने जीवनभर यो पेशा नछाड्ने बताउँछन् । बाबु बाजेले गर्दै आएको पेशा बाल्यकालदेखि नै यसैमा सीप लगाइयो अब छोडेर के गर्ने  उनको भनाई छ ।

 

उनले तामाका भाँडा बनाएर ७ जनाको परिवार पाल्दै आएका छन् । राज्यले अरु निकाय र पेशालाई पटक-पटक सहयोग गर्दापनि आफ्नो पेशाप्रति कुनै ध्यान नदिएकोमा उनी निक्कै दुःखी छन् । मान बहादुर र हेमराज मात्र होइन सरकारले सहयोग नगरेको भन्दै बाँगीका ताम्राकारहरुले राज्यसँग सहयोगको अपेक्षा गरेका छन् । – रासस

अन्य समाचारहरु