संयुक्त राष्ट्रसंघले क्यारेवियन राष्ट्र हेइटीमा हैजा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष करिव १६ करोड अमेरिकी डलर बराबरको सहायता राशीको आग्रह

संयुक्त राष्ट्रसंघले क्यारेवियन राष्ट्र हेइटीमा हैजा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष करिव १६ करोड अमेरिकी डलर बराबरको सहायता राशीको आग्रह गरेको छ।

 

हेइटीमा हैजाका कारण अहिलेसम्म ७ सय २४ जनाको मृत्युु भसकेको छ। राष्ट्रसंघले हेइटीमा हैजा विरुद्ध लड्नको लागि सहायता राशी प्राप्त नभएमा हैजाको महामारी  नियन्त्रणको प्रयास विफल हुने जनाएको छ।

 

स्वास्थ्य अधिकारीहरुका अनुसार हेइटीको १० जिल्लामध्ये ५ जिल्लामा हैजाका जीवाणुका कारण संक्रमित हुनेको संख्या कम्तीमा ११ हजार १ सय २५ रहेको छ। राजधानी पोर्ट ओ प्रिन्समा पनि हैजाका जीवाणुहरु फेला परेपछि अवस्था चिन्ताजनक बनेको छ। हैजाको जीवाणु भूकम्प पीडितहरुको अस्थायी आश्रयस्थलमा पनि भेटिएको अधिकारीहरुले बताएका छन्। गत जनवरी १२ मा गएको शक्तिशाली भूकम्पका कारण हेइटी तहसनहस बनेको थियो।

 

अझैपनि लगभग १३ लाख मानिस अस्थायी आश्रयस्थलहरुमा बस्दै आएका छन्। अस्थायी शिविरमा हैजाका जीवाणुले फैलिएमा हैजाको महामारीले भयानक रुप लिनसक्ने चिकित्सकहरुले बताएका छन्।