बंगलादेशमा भएको विस्फोटमा तीन जनाको मृत्यु, पूर्व प्रधानमन्त्री जियाको घर खाली गराउने क्रममा झडप, विरोधमा विपक्षी पार्टीद्वारा आमहड्ताल

बंगलादेशमा सत्तारुढ अवामी लिग पार्टीका एक सांसदको घरमा विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने सांसदसहित ५ जना घाइते भएका छन्।

 

यसअघि राजधानी ढाकामा विपक्षी नेसनलिस्ट पार्टीका हजारौं कार्यकर्ताले सरकारको विरोधमा गरेको प्रदर्शनका क्रममा प्रहरीसँग भिडन्त भएको बताइएको छ। प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रु  ग्यासका गोला र रवरको गोली प्रहार गरेको थियो।

 

नेसनलिस्ट पार्टीका कार्यकर्ताले पूर्व प्रधानमन्त्री खालिदा जियाको घर खाली गराउने सरकारी अभियानको विरोधमा प्रदर्शन गरेको बताइएको छ। सो घरमा जिया विगत ४० वर्षदेखि बस्दै आएकी थिइन्। प्रधानमन्त्री शेख हसिनाको वर्तमान सरकारले सो घर बंगलादेशमा सीमा सुरक्षा बल र सैनिकबीच  भएको भिडन्तका क्रममा मारिएका सेनाका परिवारलाई दिनुपर्ने बताउँदै आएको छ। अहिले सो घर खाली गराइएको बताइएको छ।

 

ढाकामा भएको विरोध प्रदर्शनमा लगभग ५० जना घाइते भएका छन्। आज नेसनलिस्ट पार्टीले बंगलादेशमा आम हड्तालको आह्वान गरेको छ।