कपिलवस्तु, मंसिर ५ – जिल्लाको चनई गाविस-५ खरेन्द्रपुरबाट शनिबार राती ९ बजे अज्ञात समूहले २ बर्षे बालक दिपेन्द्र जिसीलाई अपहरण गरेका छन् ।
घर अगाडी खेलीरहेको बेलामुख छोपेर रातो मोटरसाइकलमा आएका दुई जनाको समूहले दिपेन्द्रलाई अपहरण गरेका थिए । घर अघि खेलिरेहका बेला छोरालाई अपहरण गरेर लगिएको उनका बाबु माधव जिसीले बताए ।
अपहरणकारीले घर परिवारलाई फोन गरी २० लाख फिरौती माग गरेको परिवारीक स्रोतले जनाएको छ । तर, यसबारे यकिन गर्ने काम भईरहेको ईलाका प्रहरी कार्यालय, चन्द्रौटाका निरीक्षक यज्ञ भट्टराईले बताए ।
अपहरणमा भारतीय नम्बरको मोटरसाइकल प्रयोग गरिएको र फिरौतीका लागि एनसेलको मोबाइल प्रयोगरिएको बताईएको छ । स्रोतका अनुसार जिसी परिबारले केहि दिन अघि १० लाखमा जग्गा बिक्री गरेको थाहा पाएपछि पैसाका लागि उनको अपहरण भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
अपहरित बालकका परिवारले अपहरणकारीले माग गरेको रकम दिन सक्ने अवस्था नभएकाले छोराको रिहाइका लागि पहल गरिदिन अधिकारवादीलाई आग्रह गरेका छन् । अपहरणकारीले अपहरणको सूचना संचारकर्मी र प्रहरीलाई दिएको त्यसको परिणाम नराम्रो हुने धम्की पनि दिएका छन् ।
अपहरणकारीको खोजीमा प्रहरी सक्रिय भएर लागेको निरीक्षक भट्टराईले बताए । उनले सीमा क्षेत्रका भारतीय प्रहरीहरूसँग पनि समन्वय गरी अपहरणकारी सम्म पुग्ने प्रयास भईरहेको र यसका छिट्टै सफलता हात लाग्ने बताए ।