हिमालपारिको जिल्ला मनाङमा फेरि हिमपात सुरु, स्थानीय जनजीवन कष्टकर

लमजुङ, मंसिर ८ – हिमालपारिको जिल्ला मनाङमा फेरि हिमपात सुरु भएको छ । माथिल्लो मनाङको टङ्की मनाङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फू गाविसमा हिजो रातिदेखि हिमपात भएको हो । केही स्थानका ग्रामीण क्षेत्रहरुमा हिउँ बाक्लोरुपमा जमेको छ ।

हिमपातका कारण माथिल्लो मनाङका बसिन्दाको जनजीवन कष्टकर बनेको छ । विद्यालयमा विद्यार्थी जान नसकेका कारण उनीहरुको पढाइसमेत प्रभावित बनेको अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक ध्रुव पङ्गेनीले जानकारी दिए ।

हिमपातले तल्लो मनाङमा पनि चिसो निकै बढेको छ । अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटक हिमपातका कारण प्रभावित बनेको पर्यटन व्यवसायी मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।  

यसअघि गत कात्तिकको दोस्रो साता पनि माथिल्लो मनाङमा हिमपात भएको थियो । हिमपातका कारण मनाङमा गत वर्षहरुमा भन्दा यसपटक जाडो अत्यधिक बढेको स्थानीय बासिन्दाले बताएका छन् । रासस