भारतको बिहार राज्यमा नितिश कुमार पुनः मुख्य मन्त्री हुने निश्चित, लालुप्रसाद यादवको राष्ट्रिय जनता पराजित

काठमाडौ, मंसिर ९ – भारतको बिहार राज्यमा नितिश कुमार पुनः मुख्य मन्त्री हुने निश्चित भएको छ । विधानसभा निर्वाचनमा उनको पार्टी जनता दल यूनाइटेड र भारतीय जनता पार्टी सहितको गठबन्धनले तीन चौथाई बहुमत प्राप्त गरेको छ । 

कुल २ सय ४३ सीट मध्ये जनता दल -यू)ले १ सय १५ तथा भारतीय जनता पार्टीले ९१ सिटमा जित हासिल गरेको छ । लालुप्रसाद यादवको राष्ट्रिय जनता दलले २२ , रामविलास पासवानको रामविलास पासवानको लोक जनशक्ति पार्टीले ३ तथा केन्द्र सरकारमा सत्तारुढ काँग्रेसले ४ सिट हासिल गरेको छ । त्यस्तै झारखण्ड मुक्ति मोर्चाले १,कम्युनिष्ट पार्टी अफ इन्डियाले १ तथा अन्यले ६ सिट प्राप्त गरेका छन् ।

निर्वाचनको नतिजा प्राप्तीसंगै मुख्यमन्त्री नितिश कुमारले आफ्नो पदबाट राजीनामा दिंदै विधानसभा भंग गरेका छन् । शुक्रबार सम्ममा नितिशको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना रहेको समाचार ऐजेन्सीहरुले जनाएको छ । पूर्व मुख्य मन्त्री रावडी देवी निर्वाचन लडेको दुई वटै क्षेत्रबाट पराजित भएकी छन् ।

निर्वाचन परिणामपछि नितिश कुमारले जातीय समिकरण होइनकी विकासलाई बिहारी जनताले भोट दिएको प्रतिक्रिया दिएका छन् । उनले अब बिहारमा बढी से बढी काम गर्ने चुनौति रहेको बताए । उनले सन २०१५ सम्ममा बिहारलाई विकसित राज्यको श्रेणीमा उभ्याउने दृढता व्यक्त गरेका छन् ।