दक्षिण कोरियाले अमेरिकी सेनासँग संयुक्त सैनिक अभ्यास गरेकाले दुई देशलाई युद्धको संघारमा पुर्याएको आरोप उत्तर कोरियाले लगाएको छ।
दुई कोरियाबीचको तनाव सन् उन्नाइस त्रिपन्न यताकै खतरनाक मोडमा पुगेेको भनिएको समयमा उत्तर कोरियाको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।
दुई देशका सेनाबीच गोलाबारी भएको एक हप्ता पनि नपुग्दै प्योङयाङले दिएको यस्तो चेतावनीले दुई कोरियाबीचको सम्बन्धमा अरु तिक्तता बढ्ने संकेत दिएको छ। उत्तर कोरियाली चेतावनी लगत्तै विवादित समुद्री क्षेत्रमा नयाँ गोलावारीका आवाज आइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
दक्षिण कोरियाली सञ्चार माध्यमहरुले पछिल्लो पटक प्रहार गरिएका आर्टिलरी शेल विवादित सीमा नजिकैको क्षेत्रमा खसेको र त्यस क्षेत्रको आकाशमा धुँवा देखिएको जानकारी दिएका छन्। मंगलबार उत्तर कोरियाली सेनाले सीमावर्ती योनपियोङ्ग टापुमा गरेको गोलाबारीका कारण दक्षिण कोरिया तर्फ दुई सेना र दुई गैर सैनिक नागरिक मारिएका थिए।
यसैबीच उत्तर कोरियाले गरेको आक्रमणलाई प्रभावकारी जवाफ दिन नसकेको भन्दै आलोचना खेपेका दक्षिण कोरियाली रक्षामन्त्रीले राजिनामा दिएपछि त्यहाँ नयाँ रक्षामन्त्री चयनको प्रयास भइरहेको छ। यसअघि स्थानीय सञ्चार माध्यमहरुले नयाँ रक्षामन्त्रीको चयन भैसकेको भन्ने खबर प्रसारण गरेको भएपनि राष्ट्रपति लि मयुङ वाकको कार्यालयले सो समाचारको ख48डन गरेको छ।