दक्षिण कोरिया र अमेरिकी सेनाको संयुक्त सैनिक अभ्यासका कारण कोरियाली प्रयाद्विपमा तनाव बढ्ने संकेत, चीनद्वारा आपत्कालीन बैठकको आह्वान

उत्तर कोरियाको चेतावनीका बबाजुद पनि शुरु भएको दक्षिण कोरियाली र अमेरिकी सेनाबीचको चार दिने संयुक्त सैनिक अभ्यासका कारण कोरियाली प्रयाद्विपमा तनाव बढ्ने संकेत देखिएपछि चीनले सम्बन्धीत देशहरुको आपत्कालीन बैठकको आह्वान गरेको छ।

 

उत्तर कोरियाको आणविक निशस्त्रीकरण वार्तामा संलग्न रहेका छ देशहरु आगामी डिसेम्बर महिनामा बैठक बस्नु पर्ने चीनको भनाइ छ। उत्तर कोरियाली आणविक निशस्त्रीकरण सम्बन्धी छ पक्षीय वार्तामा दुई कोरिया, अमेरिका, जापान, चीन, र रुस सहभागी छन्। दक्षिण कोरियाले भने चीनको प्रस्ताव प्रति टिप्पणी गर्दै आफू आणविक निशस्त्रीकरण वार्ता सुचारु गर्न इच्छुक नरहेको प्रतिक्रिया दिएको   छ। 

 

उत्तर कोरियाको आणविक निशस्त्रीकरण सम्बन्धी वार्ता सन् दुई हजार नौ को अप्रिल महिना देखि अवरुद्ध अवस्थामा रहँदै आएको छ। उत्तर कोरियाली सेनाले गरेको गोलाबारीका कारण दक्षिण कोरिया तर्फ दुई जना सैनिक र दुई जना गैर सैनिक मारिएको एक हप्ता पुरा नहुँदै कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास शुरु गरेका छन्। दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाका अधिकारीहरुले संयुक्त सैनिक अभ्यासमा आणविक शक्तीयुक्त लडाकु विमान लिएका युएस एस जर्ज वासिङ्टन युद्धपोत पनि सहभागी रहेको बताएका छन्। अमेरिकी सेना र दक्षिणका सेनाले गरिरहेको संयुक्त अभ्यासबाट क्रुद्ध बनेको प्योङयाङले विवादित येल्लो सीको समुद्री क्षेत्र नजिकै जमिनबाट जमिनमा प्रहार गरिने मिसाइल तयारी अवस्थामा राखेको समाचारमा उल्लेख छ।

 

चीनले दक्षिण कोरिया तथा अमेरिकी सेनाले शुरु गरेको संयुक्त सैनिक अभ्यास प्रति आपत्ती जनाउँदै त्यसका कारण उत्तर कोरियाले कुनै कदम अघि बढाएमा त्यसका लागि आफू जिम्मेबारी नहुने पनि चीनको भनाइ छ।