अमेरिकी सरकारको कडा आपत्तिका बाबजुद विकिलिक्सद्वारा अमेरिकी सरकारसँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक

गोप्य दस्तावेज सार्वजनिक गर्दै आइरहेको वेबसाइट विकिलिक्सले पछिल्लो पटक अमेरिकी दूतावासबाट पठाइएका लगभग २ लाख ५० हजार सन्देशहरु मध्ये करिव दुई सय दस्तावेज सार्वजनिक गरेको छ। अमेरिकी सरकारको कडा आपत्तिका बाबजुद विकिलिक्सले ती दस्तावेज सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका गोप्य दस्तावेजमा केही अरवी मुलुकको नाम पनि उल्लेख गरिएको छ।

 

 दस्तावेजमा साउदी अरबका राजा अब्दुल्लाहले अमेरिकासँग इरानमाथि आक्रमण गर्न र इरानको परमाणु कार्यक्रम समाप्त पार्न अनुरोध गरिएको बताइएको छ। दस्तावेजका अनुसार इरानलाई साउदी राजाले सर्पको उपनाम दिँदै सर्पको शिर नै काट्नुपर्ने उल्लेख गरेका छन्। दस्तावेजका अनुसार बहराइनका राजाले पनि यस्तै प्रकारको अनुरोध अमेरिकासमक्ष गरेको बताइएको छ। पछिल्लो पटक विकिलिक्सले अमेरिकी सरकारको संवेदनशील दस्तावेज एवं सूचनाहरुलाई सार्वजनिक गरेपछि यसले अमेरिकालाई चिन्तित बनाएको बताइएको छ।

 

यसअघि पनि विकिलिक्सले इराक र अफ्गानिस्तानमा अमेरिकी नीतिसँग सम्बन्धित दस्तावेज सार्वजनिक गरेको थियो।