असमको पृथकतावादी संगठन एनडीएफबीले तीनजना नेपालीभाषीको हत्या

सिलिगुडी, भारत – असमको पृथकतावादी संगठन नेसनल डेमोक्रेटिक फ्रन्ट फर बोडोल्यान्ड (एनडीएफबी) ले तीनजना नेपालीभाषीको हत्या गरेको छ । असमको उदलगुडीमा उनीहरु मारिएको स्थानीय रेवतीरमण सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार असम प्रहरीले डेकियाजुली भन्ने स्थाननजिक केकरानदी किनारमा चार दिनअघि फेला पारेको शव महेश घिमिरेको भएको पुष्टि भएको छ । उनका दुई साथी अनिल पोखरेल र झलक सुवेदी पनि एनडीएफबीबाट मारिएको स्थानीयले बताए । प्रहरीले यी दुईको भने शव फेला पार्न सकेको छैन ।

गुवाहाटीका पत्रकार नन्द देवानका अनुसार तीनैजना गुवाहाटी जाने क्रममा उनीहरु उग्रवादी समूहको शिकार भएका हुन् । ठेगाना खुल्न नसकेका उनीहरू गैंडाको सिङको कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आशकामा एनडीएफबी कार्यकर्ता थानेश्वर वसुमतरीलाई पक्रेको छ । वसुमतरीलाई उद्धृत गर्दै प्रहरीले बताएअनुसार तीनैजना नेपालीभाषीलाई अपहरणपछि मारिएको हो ।

डेकियाजुली प्रहरी पोस्टअन्तर्गत शान्तिपुर गाउँमा तीनैजनाको हत्या गरी केकराजुली नदी किनारमा पुरिएको तिनले प्रहरीसमक्ष बयान दिएका छन् । पत्रकार देवानका अनुसार ८ लाख रुपैया माग्दा नदिइएपछि तीनैजनाको हत्या गरिएको हो । बोडो विद्रोहीहरुले तीन साताअघि पनि दुई नेपालीभाषी युवाको गोली हानी हत्या गरेका थिए ।