सरकारले एचआइभी सङ्क्रमितहरुलाई उचित व्यवस्था नगरेको भन्दै नवलपरासीका एचआइभी सङ्क्रमितहरुले अन्तर्राष्ट्रिय एड्स दिवस मनाएनन् । राजधानीमा भने धुमधामसंग र्याली निकालिएको छ।
सरकारले एचआइभी सङ्क्रमितको औषधि उपचार, स्याहारसुसार, पुनःस्थापना तथा जीविकोपार्जनमा सहयोग नगरेको भन्दै उनीहरुले विश्व एड्स दिवस नमनाएका हुन् ।
नवलपरासीमा रहेका एचआइभी सङ्क्रमितहरुकै संस्था लुम्बिनी प्लसले यसवर्षको विश्व एड्स दिवस नमनाउने निर्णय गरेको लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।
राष्ट्रिय एचआइभी एड्स महासङ्घको आहृवानमा एड्स दिवस नमनाएको लुम्बिनी प्लस नवलपरासीले जनाएको छ ।
सधैँभरि गैरसरकारी संस्थाको मुख ताक्नुपर्ने भएकाले एचआइभी सङ्क्रमितहरुका लागि दिगो सहयोग राज्यले गर्नुपर्ने भन्दै आफूहरुले आन्दोलनस्वरुप एड्स दिवस नमनाएको अध्यक्ष पौडेलले बताउनुभयो ।
नवलपरासी जिल्लामा २२० जना एचआइभी सङ्क्रमित रहेकामा ९९ पुरुष र १२१ जना महिला रहेको लुम्बिनी प्लसले जनाएको छ । एचआइभी सङ्क्रमितमध्ये २४ पुरुष ३३ महिलाले एआरभी लिने गरेका छन् ।
त्यसैगरी पाँच बालक र छ बालिकामा एचआइभी सङ्क्रमण भएको प्लसकी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सिडीफोर प्रयोग गर्ने ४० पुरुष र ४९ जना महिला रहेको उहाँले बताउनुभयो ।
औषधि उपचारका बारेमा सरकारले वास्ता नगर्दा सङ्क्रमितहरुका लागि ठूलो समस्या भएको बताइएको छ ।
खुलेर हिँडेका सङ्क्रमितहरुको जीविकोपार्जनका बारेमा राज्य गम्भीर नभएको आरोप सङ्क्रमितहरुको रहेको छ ।
जिल्ला एड्स समन्वय समितिले आफूले बनाएको तीनवर्षे एचआइभी एड्स रणनीति योजनाअनुसार काम नगरेको आरोप लुम्बिनी प्लसले लगाएको छ ।
दुई वर्ष अगाडि बनेको योजना अहिलेसम्म सार्वजनिक भएको छैन लुम्बिनी प्लसका उपाध्यक्ष राजु पोखरेलले बताउनुभयो ।
समन्वय समितिका अध्यक्ष स्थानीय विकास अधिकारी वसन्त अधिकारीले योजनाले निर्धारण गरेको लक्ष्य पूरा गर्न सरोकारवाला निकायसँगको छलफलमा आफूहरु लागेको बताउनुभयो ।
औषधि उपचारका लागि सङ्क्रमितहरुलाई ठूलो समस्या भएको लुम्बिनी प्लसले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक एआरभी माग गर्दासमेत सहज तरिकाले पाउन सकिँदैन अध्यक्ष पौडेलले भन्नुभयो । जिल्लामा एड्सका कारण २५ जनाले ज्यान गुमाएको लुम्बिनी प्लसले जनाएको छ ।
विश्व एड्स दिवसमा र्याली