उत्तरी युरोपमा भिषण हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ। पोल्याण्डमा चिसोले कठ्याङि्ग्रएर ८ जनाको मृत्यु भएको छ। हिमपात र विषम मौसमका कारण पोल्याण्डमा तापक्रम घटेर माइनस २० डिग्री सेल्सियसभन्दा कम भएको छ। बेलायत, फ्रान्स र स्विटजरल्याण्डका विमानस्थल बन्द हुन पुगेका छन्। उता, जर्मनी र स्पेनका पनि दर्जनांै उडानहरु प्रभावित बनेका छन्। रुसमा पनि हिमपात र विषम मौसमका कारण जनजीवन प्रभावित बन्न पुगेको बताइएको छ।
डिसेम्बर १ का दिन रुसको राजधानी मस्कोको तापक्रम माइनस २३ दशमलव ६ डिग्री मापन गरिएको थियो, जुन, सन् १९सय ३१ यता कै सवैभन्दा कम तापक्रम हो। पोल्याण्डको पूर्वी सहर बिआलिस्टोकमा देशको अन्य क्षेत्रको तुलनामा अझ बढी चिसो बढेको अधिकारीहरुले बताएका छन्। सो सहरमा माइनस २६ डिग्री तापक्रम मापन भएको छ। पोल्याण्डको प्रहरीले चिसो बढेको हुनाले घर नभएका मानिसलाइ सहयोग गर्न आम नागरिकहरुसँग अनुरोध गरेको छ।
बेलायतमा हिमपात र विषम मौसमका कारण हजारौं विद्यालयहरु बन्द गरिएको छ। हिमपात र विषम मौसमका कारण बेलायतमा दैनिक जीवन नराम्ररी प्रभावित बनेको छ। विषम मौसमका कारण यूरोपको लोकप्रिय रेल सेवा यूरोस्टार पनि प्रभावित बनेको छ।