यो बर्ष मुलुकको धेरै जसो सुचांकहरु ओरालो लागि रहेको बेला धान र मकै बालीको उत्पादनमा उच्च दरले वृद्धि

मुलुकको धेरै जसो सुचांकहरु ओरालो लागि रहेको बेला यो बर्ष धान र मकै बालीको उत्पादन भने ११ प्रतिशतका दरले बढेको छ । मन्त्रालयले यसैबारे जानकारी दिन अहिले तीन बजे पत्रकार सम्मेलन पनि गर्दैछ ।

कृषि तथा सहकारी मन्त्रालयले गरेको प्रारम्भिक अनुमान अनुसार गत बर्षभन्दा यसपाली धानको उत्पादन ४ लाख ३६ हजार मेट्रिक टनले बृद्धि भई ४४ लाख ६० हजार टन पुगेको छ । गत बर्षको तुलनामा यो ११ प्रतिशतले बढी हो । धानपछिको दोस्रो मुख्य खाद्यान्न बाली मकैमा पनि यसपटक २ लाख मेट्रिक टन (११ प्रतिशत) वृद्धि भई २० लाख ६७ हजार टन पुगेको छ ।

अनुकूल मौसम, उत्पादकत्व र क्षेत्रफलमा वृद्धिलगायतका कारणले यी दुई खाद्यान्नको उत्पादन बढेको मन्त्रालयले जनाएको छ । गत बर्षभन्दा धान खेती गरिएको क्षेत्रफल १ प्रतिशतले बढेको छ भने मकै खेतीको क्षेत्रफल ४ प्रतिशतले वृद्धि भएको छ ।

कोदोबाली भने यसपाली २ लाख ९९ हजार टनबाट वृद्धि भई ३ लाख ३ हजार मेटि्रक टन पुगेको अनुमान छ । मन्त्रालयले यसपालीदेखि फापरलाई पनि राष्ट्रिय तथ्यांकको रुपमा राखेको छ । देशका करिव ३७ जिल्लामा खेती हुने यो बालीको उत्पादन ८ हजार ८ सय ४१ टन रहेको मन्त्रालयका अधिकारीले बताए ।