अष्ट्रेलियाका विदेशमन्त्री केभिन रुढले अमेरिकी गोप्य दस्तावेज सार्वजनिक हुनुमा विकिलिक्सका संस्थापक जुलियन असान्ज नभएर अमेरिका दोषी भएको बताएका छन्। दस्तावेजको खुलासाले अमेरिकी सुरुक्षामाथि नै प्रश्न लगाइ दिएको उनको भनाइ छ।
त्यसैगरी अमेरिकी गोप्य सन्देशमा गरिएका आफूलाई गरिएको आलोचनाको कुनै वास्ता नभएको रुढले बताएका छन्। बेलायतमा पक्राउ परेका अष्ट्रेलियाली नागरिक असान्जले अमेरिकाको इशारामा आफ्नो मुद्धामा लज्जास्पद प्रतिक्रिया दिएको भन्दै अष्ट्रेलिया सरकारको कडा आलोचना गरेका छन्।
अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले विकिलिक्सले गरेको खुलासालाई गैरजिम्मेवार कार्यको संज्ञा दिएकी थिइन्। विगत दुई हप्तामा विकिलिक्सले विभिन्न देशमा रहेका अमेरिकी कुटनीतिज्ञहरुले अमेरिका पठाएका हजारौं गोप्य सन्देश र दस्तावेज सार्वजनिक गरिरहेको छ। अमेरिकाले विकिलिक्सको कदमलाई गैर जिम्मेबार र अन्तर्राष्ट्रिय समुदायमाथिको आक्रमणको संज्ञा दिएको छ। उता ल48डन अदालतले मंगलबार पक्राउ परेका विकिलिक्सका संस्थापक जुलिआन असान्जले गरेको जमानतको अनुरोधलाई अस्वीकार गरिदिएको छ।
अदालतले असान्ज फरार हुनसक्ने भन्दै उनको अनुरोधलाई खारेज गरिएको स्पष्टीकरण दिएको छ। अदालतले असान्जलाई सात दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले असान्जलाई स्वीडेन सुपुर्दगी गर्ने सम्बन्धमा फैसला सुनाउने अपेक्षा गरिएको छ। असान्ज विरुद्ध स्वीडेनमा दुई महिलालाई यौन दूर्व्यवहार गरेको अभियोग लगाइएको छ। यद्यपी असान्जले आफू विरुद्ध लागेको अभियोग अस्वीकार गर्दै आएका छन्।