सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसी जोड्ने पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय बासिन्दाहरुलाई आवतजावतमा समस्या भएको छ ।
सन्धिखर्क र चुत्रावेसी बजार जोड्ने एक मात्र मोटरेबल पुल ०६६ कात्र्तिक मसान्तभित्रमै निर्माण भैसक्नु पर्नेमा सम्झौता भएको एक वर्षभन्दा बढी समय बित्दा पनि काम पूरा नहुँदा स्थानीय बासिन्दाहरु चिन्तित भएका छ्न् ।
तीन वर्ष अघि एलिट एसबीए लम्जुङ्ग काली साकुरा र बाबुल जे।भी। गरी पाँच वटा कम्पनीले निर्माण गर्ने जिम्मा लिएको पुलमा ३ वटा कम्पनी कमिसन बुझेर बाहिरिएपछि कामको जिम्मा लम्जुङ्ग काली र साकुरा कम्पनीले लिएका थिए ।
सरकारको १ करोड ७७ लाख पचास हजार ६ सय चौबीस रुपैयाँको लागतमा निर्माणाधीन पुलको अघिकांश रकम कम्पनीले सरकारबाट असुलेको र कामकाजमा बे-वास्ता गरेको स्थानीय बासिन्दाहरुको भनाइ छ ।
समयमा पुल निर्माण हुन नसक्दा चुत्रावेसी बजारमा यातायात संचालन गर्न निक्कै कठिनाइ भएको स्थानीय बासिन्दाहरुको गुनासो छ ।
पुल निर्माणको जिम्मा लिएको कम्पनीले दैनिक ८-१० जना मात्र कामदार लगाएर काम गरेकाले पुल निर्माण कहिलेसम्म हुने हो भन्नेमा आशंका बढेको छ । कम्पनीले हालसम्म पुलको ढलान गरेको भए पनि अझै एक तिहाइ काम बाँकी छ । अहिलेर्कै अवस्थामा काम हुने हो भने पुल निर्माण हुन अझै कम्तीमा एक वर्ष लाग्ने देखिन्छ ।
पुल निर्माणको ठेक्का लिएको कम्पनीले समयमै काम सम्पन्न नगरेपछि कम्पनीलाई कारबाही तथा ताकेता गर्ने सरकारी निकाय पनि मौन रहेको स्थानीय बासिन्दाको आरोप छ ।
– रासस